सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन् । अबका ३ महिनासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरूको बुझाइ छ । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्रयाइँ गरेर लाखौँ बालबालिकाहरूको भविष्यमा अन्योल पैदा गरेको बताए । प्रधानाध्यापक कँडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरूले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरूका पुस्तक मागेर नयाँ विद्यार्थीहरूलाई दिने योजना विद्यालयको योजना छ । तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरूलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताए । सहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरे पनि दूरदराजका क्षेत्रहरूमा यो उपाय सही साबित हुन सक्दैन । जस कारण पनि शिक्षविद्हरुले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरूले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन् । प्रधानाध्यापक कँडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरू लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्यापन गराउन समस्या भएको बताए ।प्रधानाध्यापक कँडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गरेको बताए । उनले सरकारले ठोस योजना बनाएर काम नगरेको र शिक्षालाई कम प्राथमिकता दिएका कारण लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताए । प्रधानाध्यापक कँडेलले निर्वाचनलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीहरूको भविष्य र शिक्षाप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाए । यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरूको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गरे ।
Discussion about this post