लर्निसखबर संवाददाता
नेपालगन्ज, १ मंसिर
विश्व प्रतिष्ठित फ्रान्सको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने अवसर पाउने पहिलो नेपाली कलाकारको परिचय बनाएकी अभिनेत्री सुरक्षा पन्त नेपालगन्ज आउने भएकी छन् । यही २०८० मंसिर ९ गते शनिबार आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन अभिनेत्री पन्त नेपालगन्ज आउने निश्चित भएको आयोजकले जनाएको छ ।
यसक्रममा म्याराथनको अघिल्लो दिन मंसिर ८ गते हुने नेपालगन्ज कनक्लेभमा पनि उनले सक्रिय सहभागिता जनाउनेछिन् । उनले ‘के पढ्ने के लेख्ने’ शीर्षकमा प्यानलिस्टका रुपमा सहभागी हुनेछिन् । अभिनेत्री पन्तलाई बौद्धिक अभिनेत्रीका रुपमा चिनिन्छ । चलचित्र उद्योगमा प्रवेश गर्नु अघि उनी सिभिल ईन्जिनियरको जिम्मेवारीमा थिइन् । उनले सिभिल इन्जिनियरिङमा स्नातक तथा एकिकृत पानी स्रोत व्यवस्थापनमा स्नात्तकोत्तर गरेकी छिन् ।
२०१५ मा आलोक नेम्वाङको चलचित्र ‘अझैपनि’बाट डेब्यु गरेकी पन्तले धनपति, गोपी, आमा लगायत चलचित्रमा अब्बल अभिनय पस्किसकेकी छिन् । इटालियन फिल्म आठ माउन्टेनबाट उनले अन्तर्राष्टिय फिल्ममा डेब्यु गरेकी थिइन् । उक्त फिल्मले कान्समा जुरी अवार्ड प्राप्त गरेको थियो । यही फिल्मबाट पन्तको पनि चर्चा चुलिएको हो ।
उनले चलचित्र ‘आमा’का लागि राष्ट्रिय पुरस्कार जित्न सफल भइन् । उनी कविता लेखनमा रुची राख्छिन् ।
उनले चलचित्रमा आउनुअघि विभिन्न टेलिभिजनमा भिडियो जक्की भइ मिडियाकर्मीको परिचय पनि स्थापित गरेकी थिइन् ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको छ ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।
नेपालगन्ज म्याराथनमा बिभिन्न क्षेत्रका सफल दर्जन बढी व्यक्तिहरु पनि ऐक्यवद्धता जनाउन आउनेछन् ।
यसैबीच म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना गरिंदैछ । खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस÷छलफल हुनेछ । सहभागिताका लागि खुला आह्वान पनि गरिसकिएको छ । इच्छुकले समयमै नाम दर्ता गर्नुपर्नेछ । कनक्लेभ सकिएपछि बाहिरी जिल्लाबाट आएका पाहुनालाई बेलुकी स्ट्रिट फुडका लागि त्रिभुवन चोक एरिया भ्रमण गराइनेछ । जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थालाई साझेदारीका लागि आग्रह गरिएको छ ।
Discussion about this post