लर्निसखबर संवाददाता
नेपालगन्ज, २ मंसिर
नेपाली संस्कृतिमा टोपी धारण गर्नुको आफ्नै सांस्कृतिक र मौलिक महत्व छ । त्यसो त टोपी नेपालीको आफ्नै मौलिकताको हिस्सा हो ।
बाजुराको विकट क्षेत्र हिमाली गाउँपालिकाको क्युडी गाउँका बासिन्दाले लगाएका टोपी हेर्दा टोपी प्रतिको मोह संगसंगै अभाव पनि प्रष्ट देखिन्छ । आधुनिकताको नाममा अधिकांश नेपालीले परम्परागत विधी विधानलाई लत्याउँदै आएको अवस्थामा नयाँ टोपी किन्ने पैसाको अभावका विच पनि त्यहाँका बासिन्दाले टोपी प्रतिको मोह भने त्याग्न सकेका छैनन् ।
टोपी लगाउनुका मुख्य दुई उद्देश्य छन्,–‘शिरको शोभा र हावापानीबाट सुरक्षा ।’ तर, क्युडी गाउँका बासिन्दाले लगाएका टोपी दुवै काम दिने खालका छैनन् । उनिहरुले लगाएका टोपी सामान्य प्वाल परेका वा च्यात्तिएका मात्रै छैनन्, यद्यपी धुजाधुजा भएका छन् । तरपनि उनिहरुले तिनै टोपी शिरमा पहिरिएको देख्न सकिन्छ ।
‘हिजो–आज इन्टरनेटमा नयाँनयाँ मोडल र डिजाइनका कपडामा सजिने वर्ग पनि नेपालमै भेटिन्छ । तर, यी गाउँले कैयौँ वर्षसम्म एउटै टोपी यसरी टाउकोमै सडेर जाँदा पनि लगाइरहन विवश हुनुले वर्गियताको खाडल कतिसम्म छ भन्ने कुरा प्रष्ट हुन्छ ।’–भन्छन्, मानव अधिकार अभियानका उपाध्यक्ष तथा नागरिक सरोकार मन्चका अध्यक्ष जनेश भण्डारी ।
‘हिमाली गाउँपालिकाको क्युडी गाउँ नेपालकै विकट र दुर्गम गाउँ हो । केही अगाडि गाउँ गएका बेला यी बुवाहरूका टोपी देख्दा निकै मन दुख्यो’,–भण्डारीले भने । ‘एक महिनामा सकेजति टोपी लिएर बुवाहरूलाई भेट्न जाने सोचेको छु । नासो दिनेले टोपी दिन सक्नु हुनेछ ।’
Discussion about this post