लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २० मसिंर
अवैधरुपमा चलेका इ–रिक्सा होल्ड’ अभियान अन्तर्गत दोस्रो दिन ८२ वटा इ–रिक्सा नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राखिएको छ । आज पनि नीति नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ४३ वटा यात्रुबहाक इ–रिक्सा जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ–रिक्सा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ’होल्ड’ गरेर राखिएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ । नेपालगन्ज उप–महानगरपालिकाले गैरकानुनीरुपमा गुडिरहेका इ–रिक्सामाथि कडाई गर्न सुरु गरेको छ ।
यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटका इ–रिक्सामाथि कडाई गरिएको हो । मंगलबार पनि १३२ इ–रिक्सालाई चल्न नदिएर ’होल्ड’ गरिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ–रिक्सालाई गुड्न नदिइने नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले यातायातमा प्रक्रिया पुर्याएर आएपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकामा सूचीकृत हुने बताए । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, इ–रिक्सा कम्पनी लगायत सरोकारवाला वीचको ’निरन्तर छलफल र वैठक’ पछि इ–रिक्सा ’होल्ड’ गर्न सुरु गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाले इ–रिक्सा संचालक र चालकलाई सचेत बनाउँदै आएको थियो । पछिल्लोपटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो । नेपालगञ्ज सहरमा आवश्यकता भन्दा बढी इ–रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तब्यस्तता बढेको छ । दुर्घटना पनि बढ्दो छ ।
यो समस्यालाई मध्यनजर गर्दै नेपालगन्ज उप–महानगरपालिकाले गैरकानुनीरुपमा चलेका इ–रिक्सामाथि निगरानी बढाएको जनाएको छ । करिब ४ हजार इ–रिक्सा गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा करिव १० हजार इ–रिक्सा गुडेको बताइन्छ । हालसम्म नेपालगन्ज उप–महानगरपालिकामा २८ सय इ–रिक्सा मात्र सूचीकृत भएको राजश्व शाखा प्रमुख विरबहादुर थापाले बताए ।
Discussion about this post