रजनी योगी
नेपालगन्ज, २ पुष
नेपालमा लागु औषध सेवनकर्ताको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । पछिल्लो समय लागु औषध सेवन गर्नेको संख्या दिनानुदिन बढिरहेको पाईएको हो । नेपालमा लागू औषध बरामदको संख्या हेर्ने हो भने काठमाडौं पहिलो नम्बरमा छ भने बाँके जिल्ला आठौं नम्बर मा रहेको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंका एस पि चक्रराज जोशिले बताए ।
लागू औषध नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले विभिन्न जिल्लामा सचेतनामुलक कार्यक्रम गर्ने क्रममा नेपालगन्ज सिमानाका भन्सारमा पनि सोमबार उक्त कार्यक्रम गरिएको छ । सिमामा आवत जावत गर्ने नागरिकलाई सचेत गराउँदै एसपी जोशिले भने,–‘विश्वमा २७ करोड ५० लाखको हाराहारीमा लागू औषध दुव्र्यसनमा परेका छन् । भने नेपालमा २०६३ सालमा ४६ हजारको हाराहारीमा लागू औषध सेवनकर्ता फेला परेका थिए । यो संख्या बढेर २०६९ सालमा ९१ हजार पुगेको थियो ।’ यसैगरी २०७६ सालमा आउँदा १ लाख ३० हजारको हाराहारीमा लागू औषध सेवनकर्ता पुगेको उनको भनाई छ । २०८०-८१ मा पनि सर्भे हुने भन्दै यो संख्यामा अझै वृद्धि हुने उनको अनुमान छ । लागू औषध सेवन संगै बरामद भएको परिणाम पनि बढ्दो छ ।
प्रत्येक व्यक्ति सजग, सचेत, इमानदार, नैतिकवान र चरित्रवान भई लागू औषधको असरको बारेमा मानिसहरुमा जबसम्म वितृष्णा पैदा हुँदैन तब सम्म नियन्त्रण गर्न नसकिने तर्क एसपी जोशिको छ । जोशीका अनुसार पछिल्लो पुस्ता साथीभाईको संगतले पनि लागू औषधको कुलतमा फस्ने गरेका छन् ।
व्यक्तिहरुले अहिले लागू औषध ओसारपसार आए आर्जनको बाटो बनाउँदा नियन्त्रणमा चुनौती देखिएको बताउँदै खुल्ला सिमानाका महत्वपूर्ण चुनौतीका रुपमा रहेको डि।एस।पी प्रेम बहादुर शाहीको भनाई छ । नेपालमा दुरुपयोग भएका औषधि जन्य र ड्रग्सहरु खुल्ला सिमानाका बाट आयात हुने गरेका छन् ।
पछिल्लो समय लागू औषध सेवनकर्ता भन्दा बिक्री धेरै पाईन्छन् । बिक्रीकर्ता र सेवनकर्ता स्वयं आफैले पनि गर्ने गरेको पाईएको लागू औषध नियन्त्रण ब्युरो लुम्बिनी प्रदेश ब्युरो वरिष्ठ सई रमेश शाहीको भनाई छ ।
नियन्त्रणमा लिईएका लागू औषध बिक्रीकर्तालाई लागू औषध नियन्त्रण २०३३ अनुसार कारबाही गरिदै आएको एसपी जोशिले बताए । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंले लागू औषध सेवनपछी हुने समस्याका बारेमा विभिन्न जिल्लामा जानकारी तथा सचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।
आइतबार उक्त कार्यक्रम कैलाली जिल्लामा गरेको थियो भने सोमबार नेपालगन्ज सिमा नाका भन्सार र भोलि मंगलबार नेपालगन्जका विभिन्न विद्यालयहरुमा यो कार्यक्रम गरिने छ । अन्य पुर्वका जिल्लाहरुमा पनि यस्ता कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
Discussion about this post