रजनी योगी
नेपालगन्ज, ३ पुष
गुणस्तरीय स्वास्थ्य सेवाका लागि बाँकेको बैजनाथ गाउँपालिका १५ सैयाको अस्पताल निर्माण गर्दै छ । बैजनाथ गाउँपालिका वडा नम्बर ५ न्यु सिटिमा अस्पताल निर्माण गर्न लागिएको हो । अहिले अस्पतालको लागि जग खन्ने काम भईरहेको र केही दिनमा शिलन्यास गर्ने तयारी रहेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिए। बैजनाथका नागरिकले उपचारका लागि अन्य ठाउँमा जान नपरोस र सहज र छिटो स्वास्थ्य सेवा दिन सकियोस भन्ने उद्देश्यले गाउँपालिका भित्रै १५ सैयाको अस्पताल निर्माण गर्न लागिएको अध्यक्ष शाहिको भनाई छ ।
११ कठ्ठामा बन्न लागेको उक्त अस्पताल साढे दुई तलाको बन्ने छ, जसमा स्टाफ क्वाटर पनि रहेको छ । २० करोड ६१ लाख ९५ हजार १ सय ६८ लागत रकममा ठेक्का परेको अस्पतालको १७ करोड ५७ लाख २१ हजार ९ सय ६६ मा सम्झौता भएको बैजनाथ गाउँपालिका का ईन्जिनियर धर्मेन्द्र आचार्यले जानकारी दिए । अस्पताल निर्माणको काम स्काई विल्डर्स निर्माण कम्पनीले ३ वर्षभित्रमा सक्ने गरि सम्झौता गरेको पनि ईन्जिनियर आचार्यले जानकारी दिए ।
बैजनाथ गाउँपालिका वडा नम्बर ५ बनकटवामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने अन्य वडाहरुमा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । वडा नम्बर १ मा चिसापानी स्वास्थ्य चौकी, वडा नम्बर ३ मा नौबस्ता स्वास्थ्य चौकी र वडा नम्बर ८ मा टिटिहिरीया स्वास्थ्य चौकि रहेको बैजनाथ गाउँपालिका निमित्त स्वास्थ्य शाखा प्रमुख दिबस अधिकारीले जानकारी दिए । यस्तै, वडा नम्बर २ मा डिगिया आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ४ मा बनियाभार आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ६ मा गरही आधारभुत स्वास्थ्य सेवा केन्द्र र वडा नम्बर ७ मा पेडारी आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट नागरिकहरुले स्वास्थ्य सेवा लिईरहेको अधिकारीले बताए ।
गाउँपालिका भित्र जनसंख्याको तुलनामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मि कम भए पनि स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको कर्मचारी भने पूरा भएको उनको भनाई छ ।
अस्पताल निर्माणपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउने बैजानाथ गाउँपालिका बासिको अपेक्षा छ ।
Discussion about this post