लर्निस खबर
नेपालगन्ज, 26 पुष
तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाहीमा लगिएको छ।
बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगिएको एसपी प्रविण धितालले जानकारी दिए।
सर्लाहीकी रिता बोटेलाई बेपत्ता बनाएको आरोप उनीमाथि छ। बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।
लामो समयदेखि फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो। प्रहरी घर पुग्दा उनले भाग्ने प्रयास गरेका थिए। तर सफल हुन सकेनन्।
उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो। बुधबार नै हवाइ माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो। तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्याइएको थियो।
हवाइमाध्यममार्फत लग्न नसकिएपछि राति गाडीमा सर्लाही पुर्याइएको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए।
बमजनले लामो समयदेखि तपस्वीको भेषमा सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुली लगायत विभिन्न जंगलभित्र आश्रम खोलेर बस्थे। उनले आफूलाई ‘भगवान’ हुँ भनेर पनि चिनाउने गरेका थिए।
उनको आश्रममा पुगेका अनुयायीहरूमाथि यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या समेत गरेको आरोप लागेको हो।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता छन्।
बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता भएका थिए। बमजनकै आदेशमा सिन्धुपाल्चोकको आश्रममा वाइबालाई कुटेर मारेको भन्ने प्रत्यक्षदर्शीहरूले बताएका थिए।
२०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक सूचना नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनले चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे सार्वजनिक गरेकी थिइन्।
यी घटनाहरू सार्वजनिक भएपछि बेपत्ता भएका उनी मंगलबार बुढानिलकण्ठस्थित आफ्नै घरमा फेला परेका हुन्।
बमजनले आफू दुई महिनाअघि मात्रै काठमाडौं आएको भनेर सिआइबीलाई बयान दिएका छन्। बयानमा उनले काठमाडौं आएर घरमै बसिरहेको पनि भनेका छन्।
त्यसअघि उनी नेपाल-भारतका विभिन्न जंगलमा बस्दै आएको भनेर पनि बयान दिएका थिए। तर त्यसबारे सिआइबीले अनुसन्धान गरिरहेको छ। सिआइबीले उनको घरबाट स्रोत नखुलेका नगद पनि बरामद गरेको थियो।
प्रहरीले कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको छ। १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको थियो।
सिआइबीले उक्त रकमको स्रोतबारे पनि अनुसन्धान गर्ने जनाएको छ। त्यसबाहेक सिआइबीले उनको घरबाट महंगा गाडी बरामद गरेको छ। बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर बरामद गरिएको छ।
त्यसबाहेक उनले शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए। उक्त गाडी बमजनले वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए। गाडी खरिद गर्न उनले तीन करोड रुपैयाँ भुक्तानी समेत दिइसकेको अनुसन्धानबाट खुलेको छ।
Discussion about this post