लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २३ चैत
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस सेन्टर नेपाल बाँके र प्रगतिशिल पत्रकार संघ बाँकेले शुक्रबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।
आफुसँग सम्बन्धित समाचार प्रकाशित भएको बिषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाईनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्क्याएका थिए । कानून कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता बिर्सिएर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको कडा शब्दमा भत्सर्ना गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने स्थापित पद्धति र प्रावधान छ, त्यसलाई बेवास्ता गर्दै बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो, पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको कडा शब्दमा निन्दा गर्दछौं ।’
समाचार प्रकाशनका बिषयलाई लिएर दादागिरी शैलीमा पत्रकार धम्क्याउने प्रहरी उपरीक्षक बोहरालाई तत्काल कारबाही गर्न र यसरी पछिल्लो समय बाँकेमा पत्रकारमाथि निरन्तर भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन एवं सरकारसँग जोडदार माग गरिएको छ । ‘अन्यथा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मानको पक्षमा र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने छौं,’ विज्ञप्तीमा भनिएको छ ।
जारी विज्ञप्तीमा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका जिल्ला अध्यक्ष राजेश आचार्य र प्रगतीशिल पत्रकार संघ, बाँकेका संयोजक तिलक गाउँलेले हस्ताक्षर गरेका छन् । यसअघि बिहीबार नेपालगन्जस्थित पत्रकारसम्वद्ध संघ, संगठनका प्रतिनिधि तथा अग्रज पत्रकारले दुर्व्यवहार प्रति चिन्ता र चासो ब्यक्त गरेका थिए ।
Discussion about this post