लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २८ चैत
हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै नेपालगन्जको मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद) को तयारीमा लागेपछि मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रो अनुसार रमदान बुधबार सकिएर बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।
इस्लाम (मुस्लिम) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । विहिबार मनाइने ईदका लागि सर्जाम जुटाउन हरेक मुस्लिम परिवारका सदस्यहरु लागि परेका छन् । हिजरी संवत्को पात्रोले बुधबार रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु)ले द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र ईद मनाउन बाटो खुल्ने छ ।
इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।
इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाह (ईश्वर) सँग ‘दुआ/प्राथना’ गर्छन् ।
रमदान महिनाभरिको रोजा (उपवास)को उत्सवमय समापन नै ईद भएको इस्लाम धर्मावलम्बीहरु बताउँछन् । ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दान जसलाई इस्लाम परम्पराले ‘जकात’ भन्छ, यो इस्लाम हुनुको कर्तव्य मानिने गरिन्छ ।
इस्लामका पाँच आधारस्तम्भ सहादा (मुस्लिमपन्थको स्वीकारोक्ति), नमाज (प्रार्थना), रोजा (रमदान महिनाको उपवास), जकात (आफ्नो कमाइबाट गरिबलाई दिन छुट्याइने रकम) र हज (मक्काको तीर्थयात्रा) हुन् । मक्का जाने कुरा आर्थिक अवस्थासँग जोडिने हुँदा स्वेच्छिक देखिन्छ, तर अन्य चार सबै मुसलमानका लागि अनिवार्य छन् ।
अहिले रमदान समापन हुन लागेका बेला प्रत्येक बस्तीमा कुरान वाचन भइरहको छ । यहाँका सबैजसो बस्तीमा इस्लाम धर्मावलम्बी छन् । ईदको चहलपहल सबैतिर भए पनि इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीहरु अहिले ईदमय बनेका छन् ।
‘ईद’मा सार्वजनिक विदा
सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ‘ईद–उल फित्र’का अवसरमा बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
उनका अनुसार ०७९ चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले ईदमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
Discussion about this post