नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बाँकेको क्षेत्र नम्बर २ को कम्दी र नेपालगन्जमा सर्बसाधारण नागरिकसँग संवाद गर्ने भएका छन् । महामन्त्री थापा आगामी बैशाख १ गतेका दिन बाँकेको क्षेत्र नम्बर २ बाट संवाद यात्रालाई अगाडी बढाउन लागेका हुन् ।
कार्यक्रमको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले नयाँ वर्ष २०८१ बैशाख १ गतेको शुभदिनमा संवाद यात्रालाई पुनः अगाडी बढाउन लागेको जानकारी दिए । उनका अनुसार बैशाख १ गते दिउँसो २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित मिलन चोक र अपरान्ह ४ बजे नेपालगन्जको त्रिभुवन चोकमा महामन्त्री थापाको संवाद यात्रा तय भएको छ ।
सोही दिन साँझ ६ बजे पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको सभापति गुप्ताले बताए । यस्तै बैशाख २ गते बिहान उद्योगी ब्यवसायीसँग भेटघाट तथा क्षेत्र नम्बर ३ खजुरामा कार्यकर्ता भेटघाट र दिउँसो सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
नेपाली कांग्रेसका प्रखर बक्ता समेत रहेका महामन्त्री थापाको संवाद यात्रामा सक्रिय सहभागिता जनाउन सभापति गुप्ताले सबै बाँकेबासीलाई आग्रह गरेका छन् । कांग्रेस क्षेत्र नम्बर २ का सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको पत्रकार भेटघाटमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायतले पनि बोलेका थिए ।
Discussion about this post