लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १९ बैशाख
२०७५ साल अघि नेपालगन्ज उप–महानगरपालिका–४ की नाजिया अली गृहिणी मात्रै थिईन् । त्यसैबेला उनले छोटो समयका लागि हाते कढाईको तालिममा सहभागि हुने अवसर पाईन् । ‘सिप त सिकें तर, अब यसको उपयोग कसरी गर्ने’ भन्ने हुटहुटी उनलाई लाग्न थाल्यो । ‘श्रीमान जागिरे हुनुहुन्थ्यो म खाली गृहिणी मात्रै थिए । सिप सिकिसकेपछि केहि त गर्नै पर्छ भनेर सोच्न थालें । त्यसै समयमा मैले हाते कढाईका सामाग्रीहरुको बजार कस्तो छ भनेर अध्ययन पनि गरे । र पछि मैले काम सुरु गरें ।’– नाजियाले भनिन् ।
सिप सिकेको केहि समयपछि एक हजार रुपैंयाको कच्चा सामाग्री खरिद गरेर दुलहीको ‘सिन्दुर छोप्ने’ बनाईन् । त्यसपछि आफुले बनाएको सामाग्रीको नमुना लिएर होलसेल व्यापारीहरु कहाँ गईन् । त्यसैक्रममा एकजना महिला व्यापारीबाट नाजियाले तिन हजार वटा ‘सिन्दुर छोप्ने’ अर्डर पाईन् । त्यसका लागि उनले ३० हजारको सामाग्री गरिद गरिन् र ‘सिन्दुर छोप्ने’ बनाउन थालिन । त्यसबाट उनलाई १७ हजार नाफा भयो ।
परिवारको सल्लाहमा नाजिया आफ्ना श्रीमानसंगै मिलेर आफै केहि गर्नुपर्छ भन्ने सोचले उद्यमी कै रुपमा अघि बढिन् । मुस्लिम समुुदायकी नाजियाले हिन्दु समुदायको साँस्कृतिक पहिचान सहितका पोशाकहरुमा आफ्नो सिप प्रयोग गर्नु आफैमा चुनौतीपुर्ण थियो । कतिपय मौलानाहरुले त मुस्लिम भएर अन्य धार्मिक संस्कारमा प्रयोग हुने पहिरनको निर्माण गरेर अन्य धर्मको पक्षपोषण गरेको भन्दै उनिमाथि फतवा जारी गर्नेसम्मको हल्ला चलाएका थिए । तर, आफ्ना श्रीमान र परिवारको भरपुर साथ पाएकाले उनलाई कसैले औंला उठाएन ।
‘मैले काम सुरु गर्दा मेरो नानी चार महिना की मात्रै थिईन् । म घरकी बुहारी भएकोले घरव्यवहार पनि सँगसँगै थियो । तर, पनि सबैको सहयोग कै कारण म आज सबल र सक्षम छु । यसमा श्रीमान मात्रै नभईकन मलाई मेरो परिवारले पनि भरपुर साथ दिनु भएको छ ।’–उनले भनिन् । ‘सँगसँगैको अर्को चुनौति भनेको मलाई बजारसँगै प्रतिस्पर्धा गर्नको लागि गुणस्तर दिन सक्नुपथ्र्यो । सुरुसुरुमा केहि नमिलेको जस्तो भएपनि विस्तारै सबै थोक सहज हुँदै गयो । मैले पनि बजार बुझ्दै गएँ ।’
तर, श्रीमान र परिवारको साथ पाएकी उनले अहिले हिन्दु परम्परा अनुसार बिहेमा लगाईने (दुलाहा र दुलही )का पोशाकहरु आफै बनाउँछिन् । उनले ‘आसरा म्यानुफ्याक्चर’ नामक पसल समेत खोलेकी छन् । जहाँ उनी बाहेक १५ जना सिलाईकर्मिहरु (कालिगढ) छन् । यसबाहेक सिजनको बेला धेरै काम आउँदा उनी कहाँ थप रोजगारीको सिर्जना समेत हुने गरेको छ । उनले २५ हजार देखी २ लाख सम्मका हाते कढाई गरिएको विवाहको पहिरन बनाउँछिन् भने, ५० हजार देखि २ लाख ५० हजार सम्मका मेसिनद्वारा कढाई गरिएका विवाहको पहिरन बनाउँछिन् ।
उनीकहाँ दुलही सेट (सिन्दु छोप्ने, घुम्टो, लेहेङ्गाचोली, साडी–ब्लाउज, व्याग र चप्पल) तथा दुलाहा सेट (ढाका टोपि, दौरा सुरुवाल, कम्मरपेटी र जुत्ता) पाईन्छन् । सिजनको महिनामा पाँच लाख बराबरको कारोबार गर्ने नाजिया बार्षिक २० लाख सम्मको कारोबार गर्छिन् ।
Discussion about this post