लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ३१ जेठ
नेपालगन्ज भंसार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिको समयमा खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन नेकपा एमाले बाँकेका उपसचिव किशोर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर उपसचिव थापाले जमुनाह नाकाको ब्यारियल रातिको समयमा बन्द हुने भएकोले त्यसको करिब एक किलोमिटर वर भंसारले ब्यारियल लगाएर आवातजावत रोक्नु कुनै प्रकारले जायज नभएको बताए । ‘अन्तर्राष्ट्रिय सिमा नाका जमुनाह त बन्द हुने नै भयो । त्यो बन्द हुँदाहुँदै एक किलोमिटर वर रहेको भंसारले ब्यारियल लगाएर कुन प्रयोजनका लागि राति आवातजावत बन्द गर्नुपरेको हो सम्बन्धित निकायले पुष्टि गर्न सकेका छैनन्,’ सिडिओलाई ध्यानाकर्षण गराउँदै थापाले भने ।
यसरी औचित्यहिन र अनुपयुक्त तरिकाले रातिको समयमा भंसारको ब्यारियल बन्द गर्दा सिमाक्षेत्रका बीस हजार नागरिक प्रत्यक्षरुपमा प्रभावित भएको उपसचिव थापाले बताए ।‘जमुनाह नाकादेखि भंसारकोबिचमा ठुलो संख्यामा नागरिक बसोबास गर्छन् । रातिको समयमा दुखबिरामि पर्दा समेत उनिहरुलाई ब्यारियल काट्न धौधौ पर्छ,’ थापाले भने, ‘जमुनाह नाका बन्द गर्दागर्दै भंसारको ब्यारियल पनि बन्द गर्नुपर्ने औचित्य नभएकोले तत्काल यसलाई हटाउन पहल गर्नुहोला ।’
नेपाल–भारत अन्तर्राष्ट्रिय सिमामा राति दस बजे बन्द हुन्छ भने बिहान छ बजे खुल्छ । नेपालतर्फ सिमानाका जमुनाह सहित एक किलोमिटर वर रहेको भंसार समेत बन्द हुन्छ । त्यसरी बन्द हुँदा भंसार र जमुनाहसम्म बसोबास गर्ने सर्बसाधारणलाई मर्का परेको छ । ब्यारियलमा ठोक्किएर मोटरसाईकल यात्रुको निधन समेत भईसकेको छ । औचित्य नभएकाले ब्यारियल रातिमा बन्द नगर्न माग गर्दै उपसचिव थापाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन । प्रमुख जिल्ला अधिकारी रिजालले यो विषयमा पहल गर्ने बताए ।
Discussion about this post