लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ५ असार
जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा विभिन्न अपराधसम्बन्धी एक सय ७२ मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार गत जेठ महिनामा बाँके प्रहरीले विभिन्न अपराधसम्बन्धी एक सय ७२ वटा मुद्दा दर्ता गरेको हो भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।
त्यसैगरी, १८ वर्ष दुई महिना २९ दिन कैद सजाय तोकिएका ४४ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरुबाट २३ लाख ७९ हजार दुई सय ७४ रुपियाँ जरिवानासमेत असुल गरिएको उनले जानकारी दिए । यसै समयअवधिमा ६३ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । चार सय ९९ वटा ठाडो उजुरी दर्ता भएकोमा तीन सय ५१ वटा उजुरी फर्छ्यौट गरिएको, १५ वटालाई सम्बन्धित निकायमा पठाइएको र एक सय ३३ वटा उजुरी फर्छ्यौट प्रक्रियामा रहेको प्रनाउ डाँगीले जानकारी दिए ।
जेठ महिनामा मात्रै मोटरसाइकल चोरी गर्ने चार जना व्यक्तिलाई नौ वटा मोटरसाइकलसहित पक्राउ गरिएको, चोरी भएका सात थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, स्कुटर चोरी गर्ने दुई जनालाई स्कुटरसहित पक्राउ गरिएको, लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी २९ ग्राम ३६९ मिलिग्राम ब्राउनसुगरसहित २८ जनालाई कानुनी दायरामा ल्याइएको प्रवक्ता डाँगीले जानकारी दिए ।
त्यसैगरी नेपालगन्ज उप–महानगपालिका ४ का विनोद सोनी र वडा नं. ३ का हारुण रहिस हलवाईलाई स्रोत नखुलेको आठ लाख नेपाली रुपियाँसहित पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको उनले बताए ।
एक करोड १७ लाख ३१ हजार आठ सय ९० रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान, एक थान माइक्रो बस, एक थान बोलेरो गाडी, सात थान मोटरसाइकल बरामद गरी सम्बन्धित निकायमा पठाइएको तथा नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण कार्यअन्तर्गत पाँच वटा जेसिबी, ६ वटा टिपर बरामद गरी आवश्यक कारबाहीका लागि सम्बधित निकायमा पठाइएको र एक लाख ४५ हजार रुपियाँ जरिवाना गरी राजस्व सङ्कलन गरिएको उनले बताए ।
प्रनाउ डाँगीका अनुसार ट्राफिक कारवाहीतर्फ एक हजार सात सय १३ वटा सवारी साधनलाई कारवाही गरी १४ लाख ६१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ । सवारी धनी नखुलेका एक सय २१ वटा मोटरसाइकल र स्कुटर लिलाम गरी ६ लाख १२ हजार रुपियाँसमेत राजस्व सङ्कलन गरिएको छ । अवैधरुपमा भारतबाट ल्याइएका दुई लाख ५८ हजार रुपियाँ बराबरको एक सय ९५ किलोग्राम ब्रोइलक कुखुराको मासु र एक हजार ८ सय वटा ब्रोइलर कुखुराका चल्ला बरामद गरी पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको छ ।
महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान-कारवाहीतर्फ ११ वटा मुद्दा दर्ता भएकोमा संलग्न तीन जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनका अनुसार घरेलु हिंसासम्बन्धी ६१ वटा उजुरी दर्ता भएको र ३१ वटा उजुरीमाथि छानबिन गरी फर्छ्यौट गरिएको र बाँकी अनुसन्धानका क्रममा रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएकासम्बन्धमा नौ वटा निवेदन दर्ता भएको र तीन जना फेला परी अभिभावको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रनाउ डाँगीले जानकारी दिए ।
बाँके प्रहरीले पछिल्लो समयमा हरेक महिना कार्यालयबाट सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।
Discussion about this post