लर्निस खबर
नेपालगन्ज, १० असार
कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् ।
यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड घटी हो । कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पूंजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको उनले बताइन् ।
नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण निर्माण गरिएको सुवेदीले बताइन् ।
नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थी तथा अभिभावकसङ्ग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरी यस क्षेत्रका अग्रजहरुलाई विद्यार्थीहरु सँग भेट गराई स्थानीय पाठ्यक्रमका बिषयबस्तुको सहजीकरण गर्ने नीति लिने, विषयगत शिक्षकहरुलाई विद्यार्थीहरुको सिकाई उपलब्धी प्रति जिम्मेवार बनाइनेछ । नगर स्तरीय कक्षा ८ को परीक्षामा कम्तिमा ५० जना वा सो भन्दा बढी विद्यार्थी सहभागी बनाई उच्च सिकाई उपलब्धी हासिल गराउने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन उपलब्ध गराउने नीति कोहलपुर नगरपालिकाले लिएको छ ।
त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार, टिनको छाना विस्थापन, सफा स्वच्छ पिउनेपानीको व्यवस्था,मौसम अनुकुलताका लागि आवश्यक व्यवस्थापन गरिने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ । त्यसैगरीस्थानीय समुदायलाई करेसाबारी र कौसिखेतीमा प्रोत्साहन गरिनुका साथै नगरका बाँझो जमिन तथा खाली बगरको पहिचान गरी स्थान सुहाउँदो फलफुल र तरकारी खेतीका लागि प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्ने, कोहलपुर क्षेत्रमा उत्पादित तरकारीलाई बजारको पहुँच पु-याई तरकारी आयातलाई प्रतिस्थापन गरी निर्यातका लागि प्रोत्साहन गर्ने, कोहलपुरका विभिन्न वडाहरुमा उत्पादन हुने बालीहरुको पहिचान गरी बाली विशेषका पकेट क्षेत्र निर्धारणको अवस्था आंकलन गरी पकेट क्षेत्र निर्धारणका लागि आवश्यक पहल गर्ने, कृषि क्षेत्रमा मर्यादित एवं आकर्षणको पेशा बनाउनुका साथै कृषि कार्यमा लाग्ने श्रमशक्ति एवं लागत न्यूनीकरण गरी आधुनिक कृषि उपकरण तथा यान्त्रीकरण वितरणको कार्यलाई निरन्तरता दिने नीति कोहलपुर नगरपालिकाले लिएको छ ।
Discussion about this post