लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २१ असार
मान्छेले आफ्नो जीवन चलाउन संघर्ष गर्नै पर्छ । कोही मानिस आफू हुनूको अस्तित्व खोज्न संघर्ष गर्छ त कोही जिविका चलाउन । भोगाइले अब्बल बनाइदिएका महिला जीवनमा आइपर्ने हरेक अप्ठ्याराहरुलाई उल्टै आफ्ना साहसद्वारा चुनौती दिन्छन् । जसको प्रतिविम्ब हुन, मुना शाही । आफ्ना छोरा छोरीको लालनपालन र जीविको पार्जनका लागि अहिले मुनाको सारथी आफ्नै सिप बनेको छ ।
मुना जाजरकोटबाट नेपालगन्ज आएकी विवाहित महिला हुन् । उनी अहिले नेपालगन्ज उप महानगरपालिका वडा नं.१० भृकुटीनगरमा सानो पसलबाट जुत्ता चप्पल बनाउने र बेच्ने गर्छिन् । उनी विवाहित भए पनि उनका श्रीमान अहिले उनीसंगै छैनन् र नभएको पनि दशक बढी भई सकेको छ । संगै हुँदा कहिल्यै शान्ति र अमन चयन हुन दिएनन् । बरु अनेकन शारीरिक यातना र चोट जो अहिलेसम्म बल्झिरहन्छन् मुनाको शरीरमा ।
मुनाका दुई सन्तान छन् । एक छोरी १८ वर्षकी र छोरा १५ वर्षको । उनले आफ्नै बलवुतामा छोराछोरीलाई पालनपोषण अनि पढाई रहेकी छिन् । १४ वर्षको उमेरमा विवाह गरेकी मुना विवाह भएको १८औँ दिनबाट श्रीमानको यातानाको भागिदार बन्न सुरु गरिन । आफूमाथि शारीरिक यातना दिन थालेको नमिठो विगत उनी मुस्कुराउँदै सुनाउँछिन् ।
त्यसपश्चात उनले यातना पाउने क्रम रोकिएन । मुना र उनका श्रीमान दशक बढी संगै छैनन् तर पनि बिचबिचमा उनलाई श्रीमानले यातना दिन भने छाडेका छैनन् । आफ्नो श्रीमानबाट हेला पाएकी मुनाले परिवारबाट पनि साथ पाइनन् । नेपाल प्रहरीमा जागिर गर्ने उनका श्रीमान २०६६ साल तिर दुर्ई साना बच्चा र मुनालाई छाडेर लापता भएपश्चात उनको जीवन झन आधार विहीन भयो ।
श्रीमानलाई खोज्न दुई काखेबालक बोकेर मुना काठमाडांैसम्म पुगिन । श्रीमानको खोजीमा हिँडेकी मुनाले सोही अवसरमा मुटुको रोगबाट ग्रसित छोरीको उपचार गर्ने विचार गरिन् । सबै चेकजाँच गर्दा मुटुमा प्वाल परेको र अपरेशन् गर्न दुई लाख रुपैयाँ लाग्ने डाक्टरले बताएपछि छागाँबाट खसेजस्तै भएको मुना सुनाउँछिन् ।
अलिकति पैसा जोहो गरेर पहिलोपटक राजधानी पुगेकी मुनालाई अब अस्पताल र डाक्टरसंग हारगुहार गर्न बाहेक कुनै विकल्प नजर आएन् । अस्पतालमा आफूसंग पैसा नभएको सुनाउँदा अस्पतालका केहि व्यक्तिले कुनै सहयोग गर्ने संस्थाको नाम भनिदिएका थिए । त्यस संस्थामा जाँदै गर्दा आफू एक्कासी बेहोस भई लडेको मुना सुनाउँछिन् । ‘म बेहोस भएपछि कुनै व्यक्तिले मलाई अस्पताल लगेको थियो र कुनै सहयोगी संस्थालाई सम्पर्क गरेर जिम्मा लगाइदिएको कुरा मलाई होसमा आएपछि थाहा भयो ,’ मुना रसिलो आँखामा मुस्कुराहटका साथ भन्छिन् ।
मुनालाई एपेन्डिक्सको समस्या थियो त्यो पनि अन्तिम अवस्थाको । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था भएकाले परिवारको सदस्यको सहमतीको आवश्यक प-यो । तर सम्पूर्ण घर परिवारका सदस्यले मरे पनि बाँचे पनि आफूहरुलाई कुनै मतलव नभएको प्रतिक्रिया दिएपछि मुनालाई अब आफ्नो जीवनको यहिँसम्म रहेछ भन्ने लाग्यो । शल्यक्रिया नभए मृत्युसम्म हुनसक्ने चिकित्सकले आफूलाई बताएको मुनाले सुनाइन । मुना भन्छिन्, ‘त्यो अवस्थामा त मैले आशा मारिसकेकी थिए की म अब बाँच्छु होला भनेर । मेरो आधा प्राण त आफ्ना सन्तानले भोग्नुपर्ने अवस्था र पाउने दुःख सम्झेर गैसकेको थियो । खै ममा बाँकी चै के थियो त्यो समयमा मलाई थाहै छैन । म त मर्ने नै भएँ । मेरो बच्चाबच्ची कहाँ जान्छ होला, के खान्छ होला ?’ यो भन्दै गर्दा मुनाका आँखाभरी आँशु थिए ।
कतै कुनै उपाय नलागेपछि त्यसै संस्थाकी व्यक्तिले कबोलनामामा जिम्मेवार व्यक्तिको हस्ताक्षर गरेपश्चात म्ुनाको सफल शल्यक्रिया भयो । त्यस संस्थाद्वारा उनीले उपचारमात्र पाइनन्, उनले सिप पनि पाइन् । उक्त संस्थाले उनलाई सिलाइकटाइको तालिम प्रदान गरिदियो । उनले त्यसमा राम्रो पनि गरिन् तर सिलाइकटाइ सिक्ने ठाउँमा जुत्ताचप्पल बनाउने तालिम पनि दिने गरेकाले मुना त्यसतर्फ आकर्षित भइन र तालिम पनि लिइन् ।
आफ्नो माइतको बाबुको स्वास्थ्य अवस्था निकै बिग्रिएको खबर पाएपछि मुना बाबु उपचाररत् बाँकेको कोहलपुर आइन् । कोहलपुरमा रहेको नेपालगन्ज शिक्षण अस्पताल (दशविगाह)मा बाबुको उपचारको क्रममा मृत्यु भयो । त्यसपछि मुना कोहलपूरको जुत्ताचप्पल कारकाखामा काम गर्न थालिन् । एउटा कोठा भाडामा लिएर जुत्ताचप्पल कारखानामा बच्चासहित काम माग्न जाँदा उनलाई कतै काम दिइएन । कतै महिलाले गर्ने काम यो हुँदै होइन भन्ने जस्ता नमिठा कुराहरु मुनाले सुन्नुप¥यो । ‘यस्ता नमिठा कुराहरुसँग डराउने मान्छे म होइन भन्ने आत्मबलले गर्दा मैले आफूलाई प्रमाणित गर्नको लागि केहि समयको माग गर्दा बल्ल एक कारखानामा सहयोगीको रुपमा १ महिनासम्म काम गर्न पाए । मैले पहिलो तलबको रुपमा ६ हजार रुपैयाँ बुझेकी थिएँ,’ मुना मनभित्रका पीडा लुकाउँदै मुस्कुराहटका साथ भन्छिन् । बिहान ६ बजेबाट साँझको ८ बजेसम्म साना बच्चासंगै कारखानामा काम गरेको उनी बताउँछिन् ।
आफूले महिनाको ६ हजार कमाउने भएपछि उनलाई कोठाभाडा तिर्न, राशनपानी भर्न सजिलो भयो र नजिकैको सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गरिन् । त्यसपछि मुनालाई चरम संघर्षमा केहि राहत मिल्न थाल्यो । लगभग वि.स.२०६७ साल तिर कोहलपुरबाट सुरुभएको त्यो क्रम अहिले नेपालगन्जको भृकुटीनगरको बाटोको छेउको आफ्नै पसलसम्म आइपुगेको छ ।
अहिले आफ्नै पसल संचालन गरिरहेकी मुनाको मासिक आम्दानीले पसलको भाडा तिर्न, कोठाभाडा तिर्न, छोराछोरीलाई पढाउन र खानाखर्चको लागि हम्मेहम्मे हुने गरेको अमिलो वर्तमान छ उनीसँग । विभिन्न ठाउँबाट थोक सामानको माग भएता पनि आफूूसंग प्रयाप्त आवश्यक कच्चापदार्थ किन्नको लागि रकम नभएपछि उनले त्यो पनि गर्न सकिरहेकि छैनिन् । उनी आफूले आफ्ना हातले बनाएका जुत्ताचप्पलहरु देशका विभिन्न ठाउँमा पु¥याउन चाहन्छिन् तर उनको सिप अहिले आफ्नो परिवारको सामान्य आवश्यकता पु¥याउनको लागि मात्र प्रयोगमा आइरहेको छ । उनले आफ्नो सिप आफूमा मात्र सिमित राख्न चाँहदिनन् उनको सपना भनेको आफ्नै कारखाना र आफू जस्तै पीडित महिला दिदिबहिनीहरुले काम सिकेर काम गरिरहेको देख्ने हो । जुन सपना पूरा गर्न उनलाई निकै अप्ठ्यारो पर्ने पनि थाहा छ ।
यसरी हेर्दा उनले सिकेको सिपले अहिले उनलाई आर्थिकरुपमा केहि हदसम्म सक्षम बनाएको छ । उनलाई आफ्ना सन्तानलाई पाल्न र जीवनयापन गर्न कसैसंग हात फैलाउन पर्दैन । आफूले भोगेको जस्तो दुःख र यातना
कसैले भोग्न नपरोस भनेर प्रत्येक महिला आर्थिकरुपमा बलियो हुनुपर्ने उनी बताउँछिन् । सिप सिक्नु, व्यवसाय गर्नु र पैसा कमाउनुले महिलालाई भित्रैबाट बलियो बनाउने उनको भनाइ छ ।
उनीसँग विदेश जाने विकल्प नभएको होइन् तर छोराछोरीको मायाले गर्दा आफूसंग भएको सिपलाई देशमा नै प्रयोग गर्ने उनले निर्णय गरेकी हुन् । मुनाको यो व्यवसायी यात्रामा उनलाई नराम्रो नजरले हेर्ने पुरुषहरु पनि नभेटिएका हैनन् । यहासम्मकी जनप्रतिनिधिले पनि आफ्नो दयनिय अवस्थाको फाइदा उठाउन खोजेको उनी बताउँछिन् ।
उनले व्यवसायलाई बढाउनको स्थानीय सरकारसंग ऋणको माग गर्दासमेत ऋण नपाएको गुनासो उनी गर्छिन् । परिवारको साथ बिना, एक्लै, विभिन्न दुःखसंग लड्दै, असफलतालाई देख्दै र अभावसंग जुज्दै आफूसंग भएको स्रोत र साधनबाट आम्दानी गरी आफ्नो आत्मबलले जीवनलाई चुनौती दिइरहेकी यी नारी साँच्चिकै अब्बल छिन् । उनी आफ्ना तिता भोगाई हाँसी हाँसी सुनाउने भई सकेकी छन् ।
Discussion about this post