लर्निस खबर
नेपालगन्ज, ७ कात्तिक
बाँके लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको दावी गरेका छन् । सुशासन प्रवदर्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यागको भावना बोकेर वर्तमान सरकार अघि बढेको दावी गरे।
उनले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत बताए। ‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ। त्यसको सुरुवात गरेका छौं’, उनले भने, ‘एक पटक मुख्यमन्त्री भएपछि, एक पटक सभामुख भएपछि पूर्व बिशिष्टको नाममा सेवासुविधा दिने निर्णय थियो । म आइसकेपछि त्यो निर्णय उल्टायौं । त्यागको भावना बोकेर यो सरकार अगाडि आएको छ । जनताबाट उठाएको करबाट सेवासुविधा लिन्न भनेर निर्णय उल्टाएँ।’
प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडि बढेको बताउँदै मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको समेत स्पष्ट पारे। ‘मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता लागु गर्यो। सुरुवात लुम्बिनीबाट भयो। यो कामले नयाँ सन्देश दिएको छ’, उनले भने, ‘फजुल खर्चलाई नियन्त्रण गर्न यस प्रकारको आचारसंहिताले नियन्त्रण गर्दछ ।’ सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्री तहबाट थालनी गरिएको उनको भनाई छ ।
‘मैले दसैं विदामा गाडी प्रयोग गर्न हुँदैन भनेर चढिनँ । मैलो त्यो गरिरहँदा त्यहाँका जनप्रतिनिधिहरुलाई प्रेसर सृजना भयो। विवाह भोजमा सेतो नम्बर प्लेटका गाडी दौडाउन अलिकती नैतिक संकट बन्छ नी’, उनले भने, ‘एउटा व्यक्तिबाट सुरु गरेर सुशासन कायम गर्न सकिन्छ, सुधार्न सकिन्छ। म जनप्रतिनिधि साथिहरुलाई भन्न चाहन्छु व्यक्तिगत निमन्त्रणमा सरकारी गाडी न कुदाउनुस् ।’
पाँच बर्षे रणनीतक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माण गर्ने बिषयाई उच्च प्राथमिकतामा राखिएको छ। यसका साथै भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता तथा सदाचारिता प्रवद्धनलाई पनि जोड दिइएको छ । व्यावसायिकता अभिवृद्धि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्व प्रवर्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्यांकन, समन्वय, सहकार्य तथा साझेदारीलाई बिषयगत क्षेत्रको रुपमा तोकिएको छ ।
बिषयगत क्षेत्रलाई आधार मानेर रणनीति र कार्यनीति प्रस्ताव गरिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रहरुमा नैतिकता प्रवर्धनन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी रुपमा शासकीय क्रियाकलापहरु सञ्चालन गर्ने योजना बनाइएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरुको पेशागत सक्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिने, सार्वजनिक पदाधिकारीहरुको नेतृत्व क्षमता विकास गरिने, सार्वजनिक सेवालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जवाफदेही तथा जनअपेक्षित वनाईने, सार्वजनिक गतिविधिहरुमा नागरिकको सहभागिता, सशक्तिकरण र स्वस्थ नियन्त्रण कायम गर्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
प्रमुख सचिव महादेव पन्थको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ, बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्य, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो । कार्यक्रममा प्रदेश सचिव कृष्ण पौडेलले शुसान प्रवर्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्बन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण उपसचिव मोहन अर्यालले गरेका थिए ।
Discussion about this post