”इमाम”हरुलाई समुदायस्तरमा परिचालन एक प्रभावकारी उपाए
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १५ पुष
मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानका लागि इमामहरुको भुमिकाका बारेमा नेपालगन्जमा छलफल गरिएको छ । मुस्लिम आयोगको आयोजना तथा प्लान ईन्टरनेश्नल तथा बाँके युनेस्को क्लबको सहकार्यमा उक्त छलफलमा गरिएको हो ।
उक्त छलफलमा ‘इमाम’ धर्मशास्त्र पढाउने धर्म गुरु मात्र नभएर सामाजिक, आर्थिक तथा शैक्षिक अगुवा समेत भएको कुरामा जोड दिईएको थियो । कार्यक्रमका वक्ताहरुले समाज रुपान्तरणमा ‘इमाम’हरुको भुमिका महत्वपुर्ण हुने चर्चा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले यस क्षेत्रका मुस्लिम बालबालिका तथा युवाहरुको शैक्षिक अभिवृद्विका लागि ५ करोड बराबरको बजेट भित्र्याएको भन्दै आगामी दिनमा पनि मुस्लिम समुदाय तथा यस भित्रका बालबालिका तथा युवा वर्गका लागि आगामी दिनमा नितिगत सुधार तथा कानुन निर्माणमा जोड दिने बताए ।
‘मुस्लिम समुदाय तथा यस भित्रका बालबालिका तथा युवा वर्गका लागि म संधै अग्र पंक्तिमा रहेर काम गर्ने प्रतिवद्वता जनाउछु । साथै लुम्विनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएको हैसियतले समग्र समुदायको उत्थानका लागि नितिगत सुधारमा र कानुन निर्माणमा जोड दिने छु ।’– मन्त्री अग्रवालले भने ।
यस्तै, कार्यक्रमका सहभागीले यस समुदायको समग्र रुपमा उत्थान गर्नका लागि‘इमाम’हरुलाई समुदायस्तरमा परिचालन गर्नु एकमात्र प्रभावकारी उपाए भएको बताएका थिए । उनिहरुले शिक्षाबाट सभ्य समाजको निर्माण हुने भन्दै मुस्लिम बालबालिकाको शिक्षामा लगानि जरुरी भएको बताए ।
बाँकेमा जम्मा जनसंख्या मध्ये १६ प्रतिशत मुस्लिम समुदायको बसोबास छ । ९६ हजार ५ सय ११ जनसंख्या रहेको यस समुदायमा ५७ हजार ९सय ६ जना बालबालिका छन् । जसमध्ये, ४० हजार ५ सय ३४ जना बालबालिका मात्रै स्कुल जान्छन् भने स्कुल नजाने बालबालिका १७ हजा ३ सय ७२ जना छन् ।
बर्दियामा कुल जनसंख्याको २.६ प्रतिशत अर्थात ११ हजार ९ सय ५७को हाराहारीमा रहेको यस समुदायमा ७ हजार १ सय ७४ बाल बालिका छन् । जसमध्ये, स्कुल जाने ४ हजार ३ सय ४ जना मात्रै विद्यालय जान्छन् । भने, विद्यालय बाहिर रहेका २ हजार ८ सय ७० जना शिक्षा बाट बन्चित छन् ।
खजुराका किशोरी रहेमत जहाँ खाँले मुस्लिम छोरीहरुलाई पढाउन आवश्यक रहेको बताईन् । ‘धेरै छोरीहरु पढ्न चाहान्छन् । अभिभावकहरु पढाउन चाहदैनन् । भिभावकहरुलाई इमामहरुले सहजीकरण गरिदिनु प-यो । त्यति भयो भने, हामीलाई उच्च शिक्षा अध्ययनका लागि धेरै सहज वातावरण बन्ने थियो ।’– खाँले भनिन् ।
साथै अर्का सहभागी साहिल अन्सारीले भने,–‘मुस्लिम युवा तथा बालबालिकाहरुको संविधानमा अधिकार लेखेर मात्र भएन त्यसको प्रभावकारी कार्यान्वयन भए–नभएको निगरानि आयोगले गर्नुप-र्यो ।’ ‘मुस्लिम समुदायका युवाहरु अहिलेपनि उच्च शिक्षा पढ्दैनन् । घर चलाउनका लागि पढाई छाड्न बाध्य छन् । लागुऔषधको दलदलमा फसेका छन् ।’– अन्सारीले भने । मुस्लिम युवाहरुलाई ‘पढ्दै कमाउदै’ कार्यक्रम ल्याउन जरुरी रहेको उनले बताए ।
यसैविच, कार्यक्रमलाई सम्बोधन गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले मुस्लिम धर्ममा शिक्षा ग्रहणका लागि चिनसम्म जान सकिने कुरा उल्लेख गरेपनि धर्मका प्रचारकहरुले यसलाई समुदाय स्तरमा बुझाउन नसकेकाले अहिलेको परिस्थिति सिर्जना भएको बताए । यसको समाधानका लागि धर्मको सही प्रचारका लागि ‘इमाम’हरुको महत्वपुर्ण भुमिका रहने बताए ।
प्लान इन्टरनेश्नलका नीति पैरवी म्यानेजर इर्साद अहमद अन्सारीले इमामहरुले धर्ममा भएका राम्रा कुराहरुको प्रचार गर्नुपर्ने बताए । इस्लाम धर्म समाजले देखे जस्तो र सोचे जस्तो अफ्ठ्यारो धर्म नभएको उनले बताए । उनले भने–‘इमाम’को काम मस्जिदमा प्राथना गर्ने मात्र होइन् सामाजिक शिक्षा, आर्थिक क्षेत्रमा जानकारी राख्ने र त्यसलाई समुदाय स्तरमा लैजाने पनि हो ।’
मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले मुस्लिम आयोगले समाजलाई जोड्नका लागि इमामहरुको भुमिका प्रभावकारी बनाउन पहल गरिरहेको बताए । यद्यपी आफुहरुले सामाजिक कार्यमा ठुलो प्रतिफल देखिने गरि काम गर्न नसकेको बताए । आयोग समग्र मुस्लिमहरुको आन्दोलन र योगदानबाट पाएको प्रतिफल भएको भन्दै उनले भने,–‘आयोग सिंगो मुस्लिम समाजको हो । सरकारले उपहार दिएको होइन । सबै मुस्लिम समुदायको खुन पसिना छ । लामो समयको निरन्तरको आन्दोलन पछि मात्रै २०७२ को संबिधानमा यो अधिकार स्थापित भएको हो ।’
मुस्लिम आयोगले समुदायको स्वास्थ्य, शिक्षा र सामाजिक अधिकारको पैरवी गरिरहेको बताउदै आयोगका अध्यक्ष अन्सारीले चाहेर पनि मुस्लिम सचिव राख्न सकिने अवस्था नभएको बताए । ‘२०७२ सालको संविधानले समग्र मुस्लिम समुदायको छुट्टै कलस्टर बनाएको छ । तर, सरकारी सेवामा आरक्षणका लागि निजामती विधयक पारित नभएको कारणले कार्यान्वयन भएको छैन ।’–उनले भने ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साजिद अलि सिद्विकीले मुस्लिम युवा तथा बालबालिका बारे प्रस्तुति दिएका थिए भने, उवेदु रहमान खाँले मुस्लिम धर्मशास्त्र तथा इमामहरुको भुमिकाका बारेमा प्रस्तुति दिएका थिए । आयोगका प्रवक्ता मिर्जा अरसद वेगले कार्यक्रमका सहभागीलाई स्वागत गरेका थिए ।
Discussion about this post