लर्निस खबर
नेपालगन्ज, २३ पुष
६ प्रकारका लैङ्गिक पहिचान सम्बन्धि वृत्तचित्र नेपालगन्जमा विशेष स्क्रीनिङ भएको छ । नेपालगन्जको सिनेमा हलमा संविधान सभा सदस्य सुनिलबाबु पन्तद्वारा निर्मित ‘अजिमा’ वृत्तचित्र विशेष स्क्रीनिङ भएको हो । वृत्तचित्रमा विशेष गरी पितृसत्तात्मक व्यवस्थामा महिलाहरू र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको यौनिकतालाई दबाउन सक्ने देखाइएको छ ।
उक्त कार्यक्रम पछि मातृसत्ता र लैङ्गिकताका बारेमा प्यानल डिस्कसन समेत भएको थियो । उक्त छलफललाई पत्रकार रुपा गहतराजले सहजिकरण गरेकी थिईन् । प्यानलिस्टका रुपमा भने वृत्तचित्र निर्माता सुनिलबाबु पन्त, प्राध्यापक सावित्रा बस्नेत, अधिकारकर्मि मैमुना सिद्विकी तथा बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य सहभागि थिए ।
नेपालगन्जको सिने रोयलमा मंगलबार दिउँसो १ बजे वृत्तचित्र प्रदर्शनसँगै मातृसत्तात्मक परम्पराहरूमा विशेष छलफल समेत भएको थियो । पन्तले कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक र लैङ्गिक विविधता माथि एक नजर प्रदान गरेकोमा सहभागिलाई धन्यवाद ज्ञापन गरेका थिए । नेपालगन्जमा वृत्तचित्र प्रदर्शन भएको पन्तले बताए । ‘वृत्तचित्र प्रदर्शनपछिको छलफल धेरै आकर्षक र सशक्त थियो’–पन्तले भने ।
स्क्रिनिङलाई स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन एसडीसी र युरोपियन युनियनले सहयोग गरेको पन्तले जानकारी दिए । वृत्तचित्रमा ‘मातृसत्तात्मक ढाँचाभित्र, छ वटा लिङ्गहरूको मान्यता हुन्छ,जसले मानव विविधताको समावेशी बुझाइ प्रदान गर्दछ,’ भनिएको छ ।
यो वृत्तचित्र काठमाडौँ सहित पोखरा, हेटौँडा, धनगढी हुँदै नेपालगन्जमा विशेष स्क्रीनिङ भएको हो ।
वृत्तचित्र बुधवार सुर्खेतमा प्रदर्शन हुनेछ । बुधवार दिउँसो ३ बजे सुर्खेतको एलसिएम सिनेमा हलमा वृत्तचित्र प्रदर्शन हुने पन्तले जानकारी दिए । वृत्तचित्र अवलोकनका लागि कुनै शुल्क तिर्नु नपर्ने निःशुल्क रहेको उनले बताए ।
Discussion about this post