लर्निस खबर
नेपालगन्ज, ९ गते
लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
बुधवार सम्पन्न लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको छैटौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस भन्ने प्रस्ताव पारित गरेको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराएका हुन् ।
सभामा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले थारु आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदनहरू सभामा पेस गरेका छन् ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सभामा उठेका सवालहरूको जवाफ दिएका थिए । उनले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अख्तियारी एक हप्ता भित्र कार्यान्वयनमा आउने जानकारी दिए । महिला परिषद् गठनको बारेमा पनि कानुनी आधार निर्माण गरेर अघि बढाउने बारेमा धारणा राखेका थिए ।
प्रदेशसभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्दै विभिन्न सामाजिक, राजनीतिक तथा आर्थिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । अर्को बैठक माघ २२ गते बस्ने छ ।
Discussion about this post