चन्द्रकला उप्रेती
मङ्सिर २२ गते
देशमा शान्ति सम्झौता भएको बर्षौ वितिसक्यो तर मनमा द्धन्द्धको पिडाले अशान्त भरिदिएको छ । निन्द्रा बाट झस्कीन्छु अनि ढोका खोलेर हेर्छु कतै मेरो श्रीमान त आउनु भएन ? फेरी ढोका बन्द गर्छु आखाँ बाट मौन रुपमा आँसुको बर्षात झर्न सुरु हुन्छन । निदाई रहेका आफ्ना छोरा छोरीहरुलाई हेर्छु कति पिडादायी जिवन भोगिरहेका छन । बुवाको काखमा च्यापिएर सुत्नको लागि तडपिएका हुन्छन । बगीरहेका आँसुहरु संग आफै प्रश्न गर्छु आखीर कहिले सम्म आँसुको धारा बगाउने त ? आफै संग प्रश्न गर्छु अनि टेबुल माथि राखीएको कलम उठाउँछु । मनका भावनालाई कलम मार्फत पोख्ने गर्छु । सधैझै आज पनि रातिको ११ बजेर ५५ मिनेट गएको छ ।
जब मंसिर महिनाको सुरुवात हुन्छ । यो मनमा छुट्टै किसीमको छटपटी महसुस हुन थाल्छ । २०६० साल मंसीर २३ गते साँझ ६ वजेको समय थियो । तत्कालिन शाहि सेनाले आफ्नै पसल अगाडिबाट मेरो श्रीमान भुपेन्द्र उप्रेतीलाई सोधपुछका लागी भन्दै लिएर गए । नेपालगन्जको धम्वोझी चोकमा लगेर एक डेढ घण्टा त्यहि राख्यो । उहाँसंगै सुर्खेतरोडमा घर भएका सुनील क्षेत्रिलाई पनि संगै लग्यो । मेरो श्रीमानको १८२३ नं को मोटरसाइकल समेत सेनाले आफैले चलाएर हाम्रो मान्छे राझाँ व्यारेकमा लग्यो । सुनील र मेरो श्रीमान संगै राखीएको ३ दिन पछि मेरो श्रीमानलाई छुटाएर कहाँ लगीयो ? सुनील क्षेत्रि भने १७ दिनपछि घर फर्किनु भयो । धम्बोझीबाट आँखामा कालो पट्टी बाँधेर लगेको देख्ने धम्बोझी चोकका मानिसहरु मध्ये ‘मैले देखेको’ भन्ने धेरै थिए । तर अहिले ति ब्यक्ति कसैको मृत्यु भयो, कोही कता गए थाहा भएन । केही ब्यक्तिले तपाईको श्रीमान अब फर्किनु हुन्न भन्दा मनमा चिसो पसेर आउथ्यो । त्यसैमाथि आफ्ना छोरा छोरीले बुवा कहिले आउनु हुन्छ भन्दा मन आतिएर आउथ्यो । जसो तसो गरेर छोराछोरीलाई त सम्हाल्थें तर आफ्नो मनलाई सम्हाल्न निकै गाह्रो हुन्थ्यो ।
आफ्नो श्रीमान फर्किनु हुन्छ भन्दै कुरेको आज २१ वर्ष भइसक्यो तर अहिले सम्म मेरो श्रीमान फर्किनु भएन । विस्तृत शान्ति समझौता भएको १८ बर्ष पूरा भईसक्यो तर कहाँ छ हामीलाई शान्ति ? शान्ति सम्झौता अन्तर्गत १२ बुँदेमा उल्लेखित वेपत्ता सार्वजनिक गर्ने ६० दिन कहिले आउँछ त ? म जस्तै वेपत्ता परिवारसँग यस्तै धेरै प्रश्न छन्, तर यी प्रश्नको जवाफ कसले दिने ?
केहि कामको लागि सरकारी कार्यालयमा जाँदा परिचय खोज्छ । श्रीमान् खै ? के भएको ? किन लगेको जस्ता शब्द र श्रीमतीको परिचय खोज्ने जस्ता कार्यले थप पीडा दिएको छ । आज मेरो श्रीमान भएको भए यस्तोे पिडा दिन सक्थेनन् होला । मेरो छोराछोरीले पनि बुवाको परिचय खुलस्त दिन सक्थे होला । छोराछोरीको यहि छट्पटाहाटलाई हटाउन म न्याएको लागि प्रहरी, प्रशासन, सरकारी वकिल, अदालत धाइरहेकी छु । तर कहि कतैबाट यसको सम्बोधन भएन । न्यायको लागि दौडिरहेका यी मेरा पाईलाहरु विस्तारै थकित भएका छन । मन उदासिएको छ । कसरी पाउछु मैले न्याए र कहिले पाउँछु न्याय भन्दा भन्दै बोलि नै हराइसकेको छ ।
श्रीमानको अवस्था सार्वजनिक गरिदिन माग गदै विभिन्न सरोकारवाला निकाएमा धाइरहदा एकदिन मोवाईलको घण्टी बज्छ । अनि सुन्छु मेरो घरमा छिमेकिले डोजर लगाइदिए छन । चारैतिर अध्यरो बादलले ढाके जस्तो भयो । म आफैमा हराइरहे । कहाँ जाउ ? कता जाउँ ? शरिर काम्न थाल्यो । अनि आखाँ बाट खस्न लागेका आँसुलाई नसकेर पनि रोक्छु र आफ्नो घरमा पुग्छु घरमा त साचिकै डोजर पो चलेछ । घरको मेरो जग्गा पुर्व पट्टि दुई तिन मिटर मात्र छ । पश्चिम पट्टि आधा धुर जति काटिदिएको छ । त्यसैमा जग्गा नै कम । साँचै आज द्धन्द्धले दिएको चोटले कसरी न्याय पाउन भनि हिँड्दा बुद्धिजिवि मानिने छिमेकि र स्थानिय सरकार लगाएतले घरमा डोजर लगाईदिएको अवस्था मैले भोगिरहेको छु । भित्र भित्र घाउ भएको जस्तो अनुभव भएको छ । आज द्धन्द्धको घटनाको सम्बोधन राज्यले गरिदिएको भए छिमेकिले पनि मलाई यसरी पिडामा पार्ने थिएनन् होला । आफ्नो घरको संरक्षण गारिदिनु भनेर धेरै ठाउँमा धाए । प्रहरी देखि वकिल अदालत सम्म फोन गरे तर कतैबाट केहि जवाफ आएन ।
हामीले कस्तो पीडा भोगीरहेका छौं, जहाँ जाऔं, घरमा बस्दा न बाहिर हिंड्दा, कति हिंसा भोग्न बाध्य छौं । मेरो श्रीमानलाई राज्यले वेपत्ता पा-यो तहि कम्जोरीको फाईदा उठाएर बुद्धिजिवी मानिने छिमेकी र स्थानिय सरकार समेतले पनि पीडा दिन थाले ।
सत्य र न्यायका लागि बलिदान दिनेहरु नै अहिले सत्य र न्यायबाट बन्चित भएका छन् जस्तो अनुभव भएको छ । सबै भन्दा महत्वपुर्ण कुरा त म परिचय विहिन भएकी छु । न म एकलको परिचय पाउन सक्छु न त म संग मेरो श्रीमान नै हुनुहन्छ ।
श्रीमान बेपत्ता भएदेखि प्रत्येक बर्ष केही न केही श्रीमानको सम्झनामा कहिले दिप प्रज्वलन गर्ने, पूजा आजा गर्ने लगायतको कार्यक्रम गर्दै आएकी छु । एउटा मनको पीडालाई कम गर्न यस पाली पनि दिप प्रज्वलन गर्ने कार्यक्रम राखेकी छु ।
(लेखक उप्रेती द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी केन्द्रीय कोषध्यक्ष एवं प्रदेश संयोजक समेत हुन् ।)
Discussion about this post