लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २३ मसिंर
बाँकेको चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो, बर्फानी बाबा आश्रम । दुधेश्वर महादेवका नामले समेत चिनिने आश्रममा भारत र नेपालका थुप्रै ठाउँबाट भक्तजनहरु पुगेर बाबासँग आर्शिवाद लिन्छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पहाडको चुचुरोमा बर्फानी बाबाको आश्रम अवस्थित छ । ‘बरफमा बसेर तपस्या गर्ने’ बाबाको आश्रम भएकाले यस ठाउँलाई बर्फानी बाबा आश्रम भन्न थालिएको हो ।
‘पहिला म गोठेकुण्ड (नाम्चेभन्दा माथी) तपस्या गथ्र्ये । तपस्या गर्दा गर्दै मलाई शिव जीले मलाई यो ठाउँमा भन्नु भएको थियो, दुद्धेश्वर महादेव कहाँ गएर बस भनेपछि म बसेर तपस्या गर्न थालेको हुँ, गाईलेकबाट आएर यहाँ दुध चढाउँदा रहेछन्, दुध चढाउँदाखेरी दुधेश्वर भयो,’ बर्फानी बाबाले भने ‘नाम्चे बजारभन्दा माथी गोखेकुण्डमा हिमालमा बसेर म तपस्या गथ्र्ये, शिवजीले मलाई भन्नुभयो, यस्तो ठाउँ छ, त्यहाँ गएर पुरानो ठाउँलाई सम्हाल भन्नुभयो, पहाडी महाराज भन्ने हुनुहुन्थ्यो, उहाँले मलाई बरफबाट आएको हुँदा बर्फानी बाबा भन्ने नाम रह्यो, मलाई सबैले बर्फानी भन्नथाले ।’
टाढाबाट आउने भक्तजनले आश्रममै रहेको दुद्धेश्वर महादेव मन्दिरमा पुजाआजा र भाकल गर्छन् । यस्तै आश्रममा बाबालाई भेट गरेर आर्शिवाद लिन्छन् । बाबासँग आर्शिवाद माग्ने भक्तजनहरुको घुइँचो नै लाग्छ । यहाँको अर्को विशेषता भनेको खाना खाने समयमा पुग्ने जो कोही भक्तजनहरु खाली पेट फर्किदैनन् । बाबा भन्छन्, ‘भगवानको कृपाले यो ठाउँमा छोरा मागे छोरा पाएका छन्, आर्शिवाद माग्छन्, भक्ती अनुसारको शक्ती हो, त्यही अनुसार फल पाएका छन्, सबै लखनउ, दिल्ली, मुम्बई, कलकत्ता, तेलंगना, बाट आउँछन्, यता नेपालबाट आउँछन् ।’
वर्षौ पुरानो र जीर्ण अवस्थामा रहेको दुद्धेश्वर महादेव मन्दिरलाई तत्कालिन राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको पहलमा जीर्णोद्धार गरिएको थियो । गाउँपालिकाको २० लाख रुपैयाँ अनुदान सहयोगमा मन्दिर तथा आश्रमसम्म जाने बाटो २०७८ चैत ४ गते निर्माण सम्पन्न गरिएको थियो ।गाउँपालिका अध्यक्षको कार्यकाल पुरा भएपछि पनि उनले लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयमा पहल गरेर धर्मशाला निर्माणका लागि बजेट निकासा गरिदिएको बाबा सम्झिन्छन् । आश्रममा अहिले बढी समस्या खानेपानी र बिद्युतको भएको उनी बताउँछन् ।
‘लाहुराम अध्यक्ष हुँदा मन्दिर बनाइदिनुभयो, धर्मशाला पनि बनाउन पहल गर्नुभयो, सबैभन्दा ठुलो त यहाँ पानी र बिजुलीको समस्या छ,’ पानी र बिजुली मैले पाए भनेदेखी राम्रो हुन्थ्यो,’ बाबाले भने ‘पानी तीन वटा मेसिनले तान्छ, महिनामा १ सय लिटर डिजल खान्छ, बोकेर खुवाउन सकिदैन, डेढ किलोमिटर, दुई किलोमिटर टाढा छ, आएका मान्छेलाई पानी पनि खुवाउन पाईदैन, पानीको लागि पैसा आएको छ भन्छन् ।’ आश्रम राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको बीच भागमा पर्ने भएकाले यसको विकासमा दुबै स्थानीय सरकारको समान दायित्व रहेको छ ।
Discussion about this post