लर्निसखबर संवादाता
नेपालगन्ज, २५ मसिंर
नेपालगन्ज उप–महानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मङ्गलबार उप–महानगरपालिकाको मुल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन् ।
रिक्सा चालक नेपालगन्ज–१५ जयसपुरका सलमान खानले उप–महानगरपालिकाले रिक्सा नियन्त्रणमा लिएपछि आफुहरुको दैनिकीमा समस्या पर्न थालेको बताए।
खानले भने, ‘‘रिक्सा मालिकले कर नतिरेको दोष हामी चालकलाई दिन भएन ।’’
नेपालगन्जका गुड्ने ई–रिक्सामध्ये भाडामा चलाउने पनि अधिक छन् । यहाँ १० हजार बढि ई–रिक्सा भएको अनुमान छ । उप–महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ई–रिक्सा अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने निर्णय गरेको छ ।
जस अनुसार दर्ताका लागि कुनैपनि कागजात नभएका ई–रिक्सा नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रणमा लिइएका ई–रिक्सा सञ्चालक र चालकहरुले विनासर्त ई–रिक्सा छोड्नुपर्ने माग गरेका हुन् । उनीहरुले अबदेखि उप–महानगरपालिकामा दर्ता भई कर तिर्ने प्रतिबद्धता जनाएका छन् । उप–महानगरपालिकाले रातो नम्बर प्लेटका ई–रिक्सालाई समेत यात्रु बोक्न प्रतिबन्ध लगाएको छ ।
नगरभित्र चलिरहेका रातो नम्बर प्लेटका रिक्सा लिने गरिएको छ । नगर प्रहरी सहायक निरीक्षक पवन कनौजियाका अनुसार यात्रुबाहक सवारी साधनमा प्रयोग गरिएका रातो नम्बर प्लेटका रिक्सा, चेसिस र ब्लुबुक नमिलेका, कागजात नभएका रिक्साहरु ३ सय ९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।
Discussion about this post