लर्निसखबर संवादाता
नेपालगन्ज, २६ मसिंर
बाँके प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । प्रशासनको नेतृत्वमा मङ्गलबार नेपालगन्जका विभिन्न मिठाई पसलमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले मङ्गलबार नेपालगन्जका विभिन्न मिठाई पसलहरुको अनुगमन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलका अनुसार अनुगमनका क्रममा उपभोक्ताको हितविपरीत सञ्चालित केही मिठाई पसललाई नगद जरिवानाका साथै मिठाईको उत्पादनमा समेत रोक्का गरी कारबाही गरिएको छ ।
राम मिष्ठान भण्डारको मिठाई उत्पादन गर्ने कारखाना असाध्यै फोहोर रहेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपियाँ जरिवाना गरिएको र सरसफाइको सुनिश्चितता नहुँदा सम्मका लागि मिठाई कारखानाको उत्पादन रोक्का गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुनासमेत सङ्कलन गरिएको छ ।
त्यसैगरी, श्याम मिष्ठान्न भण्डारले पनि सरसफाइ नगरेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपियाँ जरीवानाका साथै सरसफाइ सुनिश्चितता नहुँदासम्मका लागि मिठाई उत्पादन रोक्का गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताए । उक्त पसलबाट सडेगलेको तथा बिग्रेको अवस्थामा फेला परेको ५ किलो मिठाई नष्ट गरिएको र बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको उनले जानकारी दिए ।
मधुवन स्वीट पसलमा पनि सरसफाइ नगरेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपियाँ जरिवानाका साथै सरसफाइ सुनिश्चितता नहुँदासम्मका लागि मिठाई उत्पादन रोक्का गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताए । उक्त पसलबाट बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको उनले जानकारी दिए ।
त्यसैगरी लिटिल हङ्गर एण्ड स्वीट बेकरीबाट म्याद गुज्रेको अवस्थामा रहेको लिक्विड फ्लेवर दुई लिटर र कोकोनट पाउडर एक प्याकेट फेला पारी नष्ट गरिएको र बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायको संयुक्त टोलीले दैनिकजसो नेपालगन्जका विभिन्न पसलमा अनुगमन गर्नुका साथै कारबाही गर्दै आएको छ ।
Discussion about this post