शंकर प्रसाद बराल
कालिकोट, ३० मसिंर
परिचय
देउरा मालिकाको रुपमा परिचित भएता पनि यस क्षेत्रको वास्तविक नाम मलयागिरी हो । यहाँ सति देविको आसन पतन भएको भन्ने पुरानो कथन रहेको पाइन्छ । मलया भनेको आसन र गिरि भनेको पहाड वा पर्वत भन्ने बुझिन्छ अर्थात् सतिदेवीको आसन पतन भएको पर्वतको रुपमा मानिन्छ ।
यो क्षेत्र कालिकोट जिल्ला रास्कोट नगरपालिका वार्ड नम्बर ४ को लेकाली भेगमा अवस्थित रहेको छ । रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजार देखि करिव २–३ घण्टाको पैदल यात्रा पछि देउरा पुग्न सकिन्छ । रास्कोटको मात्र नभई कालिकोटकै अझ भनौ समग्र कर्णाली प्रदेशकै उत्कृष्ट धार्मिक एवं ऐतिहासिक गन्तव्य स्थल देउरामालिका आम जनताको आस्थाको केन्द्र मात्रै होइन, एक नमुना पर्यटकिय स्थल बन्दै छ ।
‘‘हरियाली देउरा पाटन ,स्वर्ग सम्झे हुन्छ,
अनेक रंगका फुल फुल्दछ ,घाँस पात पुरै चुन छ ।
फर्किन्या मन लाग्दैन छ, देउरा गया पछि,
रास्कोट बसोबास होइजाउ, भाग्य भया पछि ।’’
छत्र बहादुर बम(समग्र) ले भने झै साँच्चिकै देउरा यस्तै छ ।
यहाँ बसन्तमा फुल्ने हरियो पाटनको छाती माथि टकमक्क फुलेका रंगिबिरङी फुलले यहाँको सौन्दर्यता झल्काउछ भने सरद मा फुलेका ती लेकाली भेग ती स्याउ बगैंचा र विभिन्न किसिमका फलफुलहरु लगायत अन्य थरीथरीका फुलहरुको रंगिन दृश्यले यहाँको थप उचाई दिन्छ । यहाँ मुख्यगरी अत्यन्तै मनमोहक सुन्दर मलयागिरी पाटन, पाटनको अग्लो केन्द्रमा जागेश्वर महादेव,कमलायोगिनि र बर्जेश्वरी भगवतीको मन्दिर ,मन्दिरको पश्चिम तिर मलयासैन पर्छ यसको नजिकै सुन्दरताले भरिपुर्ण ताल रहेको छ । र देउराको भगवतीको मन्दिर नजिकै ठुलो ताल रहेको थियो यस ताललाई देउराको दह भनेर पनि चिनिन्छ । यो ताललाई धार्मिक एवं ऐतिहासिक तालको रुपमा चिनिन्छ । यस तालमा गइ कर्म काण्ड गर्दा मुक्ति पाइन्छ भन्ने जन आस्था रहि आएको छ । हाल यो ताल २०७७ सालको अविरल बर्षाका कारण तालको पुर्व भाग भत्किएकोले तालमा पानी जम्मा छैन । प्राविधिक सहितको टोलि अनुगमनमा जाँदा यो तालको पुनस्निर्माण गर्न सकिने आधार भने रहेको छ ।
देउरा मालिका प्राकृतिक बनावटले आफै सुन्दर, निकै शान्त, हराभरा र स्वच्छ वातावरण, चारैतिर मनमोहक चाँदी झै टल्किएका सेताम्मे हिमालहरु, चारै तिर जंगल र रमाइला स–साना पहाडहरु, पहाडका खोच खोचमा फराकिला जमिनका फाँटहरु, सुन्दर प्रकृतिको अनुपम शृङ्खला, कलात्मक सुन्दरता, रंगहरुमा गाढा मित्रता, दृश्यमा आनन्दको आभास, प्राकृतिक सौन्दर्य, मनमोहक आकृतिको आकर्षण सुन्दर कलाचित्रमा प्रकृतिको पृथक सुगन्धले मुक्त पार्छ ।
भौगोलिक रुपमा अछाम, बाजुरा ,डोटि र बझाङको सिमानामा पर्ने प्रसिद्ध भु–स्वर्गको नामले परिचित खप्तड क्षेत्र सँग देउरालाइ तुलना गर्न सकिन्छ । भौगोलिक बनोट र प्राकृतिक सुन्दरताको हिसाबले खप्तड र देउरामा कुनै फरक छैन ।
नामाकरण र उत्पत्ति
हाम्रो पहिले पुरानो अवस्थामा गोठानै गोठान भएको र करिब चार महिना यस क्षेत्रमा सबै गोठालाहरुले गाई भैंसी लगायतका पशु बस्तु पालेर बस्ने गर्थे ।
श्रावण शुक्ल चतुरदर्शिका दिन यस ठाउँमा दहि दूध चढाउने गर्थे रे भन्ने कुरा अग्रज बाट सुन्न पाइन्छ । यो अहिले शिव पुराणको केदारखण्डमा उल्लेख भए अनुसार नेपालमा भएका पचास वटा शक्ति पिठ मध्ये देउरामालिका अर्थात् मलयागिरी एकचालीस औ शक्ति पिठमा पर्दछ । यस क्षेत्रमा सतिदेविको आसन पतन भएको पुरानो कथन रहेको पाइन्छ । स–साना पहाडै पहाड भएको यस क्षेत्रमा सति देविको आसन पतन भएको हुँदा यस क्षेत्रको नाम मलयागिरी रहन गएको हो । त्यसपछि यहाँ जागेश्वर महादेव, कमलायोगिनी र बर्जेश्वरी भगवती उत्पत्ति भएको भन्ने गरिन्छ ।
यो विषयमा स्वस्थानी माघ महात्मेमा पनि उल्लेख गरेको पाइन्छ ।
बडिमालिका र देउरामालिका विचको सम्बन्ध
बडिमालिका सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्छ भने देउरामालिका कर्णाली प्रदेशको कालिकोट जिल्ला अन्तर्गत रास्कोट नगरपालिकामा पर्छ । बडिमालिकालाई मल्लागिरीको नामले पनि चिनिन्छ । यहाँ सतिदेविको बायाँ कुम पतन भएको र देउरामालिकालाई मलयागिरीको नामले पनि चिनिन्छ । यहाँ सतिदेविको आसन पतन भएको भन्ने गरिन्छ । यी दुबै मालिकामा एकै दिन अर्थात् श्रावण शुक्ल चतुदर्शिका दिन भब्य पुजापाठ एवं मेला लाग्ने गर्दछ । बडिमालिका प्रचारप्रसारका कारण देश बिदेशमा प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र भइसकेको अवस्था छ, भने देउरामालिका दुखका साथ भन्नू पर्छ प्रचारप्रसारको कमिले हालसम्म धार्मिक एवं पर्यटकीय गन्तव्य हुन सकिरहेको छैन ।
शिव पुराणको केदारखण्डमा उल्लेख भए अनुसार नेपालका ५० वटा शक्ति पिठ मध्ये बडिमालिका ४० औ शक्ति पिठमा पर्छ भने देउरामालिका ४१ औ शक्ति पिठमा पर्छ। धार्मिक विश्वास एवं आस्थाको दृष्टिकोणले बडिमालिका र देउरामालिकामा कुनै फरक छैन । यी दुबै ठाउँ मध्ये जुन ठाउँको दर्शन गर्दा पनि मनोकामना पूरा हुने विश्वास गरिन्छ । सत्य निष्ठा भएर जो भक्तजन दर्शन गर्न जान्छ उसको मनोकामना पुर्ण हुन्छ । घमण्ड, छल कपट गरेर दर्शन गर्न गएमा मनोकामना पुर्ण नहुने विश्वास समेत गरिन्छ ।
पुजापाठ र धार्मिक मेला
देउरामालिकामा प्रत्येक बर्षको एक पटक श्रावण शुक्ल चतुदर्शिका दिन बृहत धार्मीक मेला एवं पुजापाठ हुने गर्दछ । यहाँ पाटनको बिच भागको अग्लो सुन्दर स्थानमा पुरानो शैलीको जागेश्वर महादेव, कमलायोगिनी र बर्जेश्वरी भगवतीको मन्दिर रहेको छ । यहि मन्दिरमा पुजापाठ हुने गर्दछ । यहाँको मुख्य पुजारी रास्कोट नगरपालिका वाड नं.८ बाहुनथानका धमाला परिवारहरु हुन् ।
उनिहरुको टोलि बाहुनथानमा रहेको बडिमालिकाको मन्दिरमा पुजाआजा गरि बाजागाजा सहित श्रावण शुक्ल चतुदर्शिको अघिल्लो दिन वा १ दिन अगाडि देउरामालिका तिर प्रस्थान गर्छन् । देउरामा त्यो रातभरी पुजारीको टिम सहित केही भक्तजनहरु पुजापाठ गरेर भजन गाएर बस्छन् ।
त्यसपछि भोलि पल्ट अर्थात् श्रावण शुक्ल चतुदर्शीका दिन बिहानै ४/५ बजे देखि पुजारीहरुले मन्दिरमा पुजा सुरु गर्छन् । विहानै देखि हजारौं भक्तजनहरुको महिला पुरुषको छुट्टाछुट्टै लाइन लागिसकेको हुन्छ । सबैले क्रमश दर्शन गरेर फर्किनु हुन्छ । यो प्रक्रिया बेलुकासम्मै रहन्छ ।
मन्दिर भन्दा करिब दुई सय मिटर तल त्रिवेणि धाम रहेको छ । जहाँ मेलाको अवधिभर अस्थाई बजार लाग्ने गर्दछ । त्यहाँ पानीको मुहान छ । जिर्ण अवस्थामा रहेका पुराना धाराहरु छन् । पुजापाठ एवं मेलाको दिन हजारौं भक्तजनहरुको उपस्थिति हुने गर्दछ । भक्तजनहरुले त्रिवेणिमा रहेको धारामा स्नान गरि मन्दिरको दर्शन गर्ने गर्दछन् । यहाँ दर्शन गर्दा चाहेको सबै मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
यस पटक २०८० को मेलामा विशेष गरि कालिकोट रास्कोट नगर लगायत नगर आसपासका सबै पालिकाहरु बाट, बाजुरा, बर्दिया, कैलाली, दैलेख, सुर्खेत, कंचनपुर र दार्चुला सम्मका भक्तजनहरु आएक थिए ।
देउरा क्षेत्रले बोकेको सम्भावना र अवसर
प्रचारप्रसारको कमिका कारण पछि परेको देउरा क्षेत्रको भविस्य हेर्दा निकै उज्ज्वल देखिन्छ र नयाँ पर्यटकीय गन्तव्य बन्न सक्छ । प्रचारप्रसार गर्न सके, सडकको पहुँच पुर्याउन सके र देउरा क्षेत्रमा भएका धार्मिक एवं पर्यटकिय क्षेत्रहरुलाइ व्यवस्थित गर्न सके कालिकोट कै प्रमुख आकर्षकको केन्द्र बन्न सक्ने कुरामा शंका छैन ।
दुरिको हिसाबले निकै नै सहज रास्कोट नगरपालिकाको मुकाम देखि २/३ घण्टाको पैदल यात्रा मार्फत पुग्न सकिन्छ । अर्थात् बिहानै गएर भ्रमण एवं दर्शन गरि बेलुका फर्किन सकिन्छ । पानीको राम्रो ब्यवस्था भएको खुला स्वच्छ र रमणीय ठाउँ भएकोले बनभोजको लागि पनि अति उपयुक्त छ । धार्मिक मान्छेहरुको लागि अझ बढी उपयुक्त छ ।
देउरा लेकाली भेगमा पर्ने हुँदा त्यहाँ स्याउ, आरु लगायतका विभिन्न किसिमका फलफुलहरु र आलु, सिमि लगायतका तरकारी र दालहरु प्रशस्त पाइन्छन् । यस क्षेत्रको विकास हुने हो भने त्यहाँका कृषकहरुको राम्रो आम्दानी हुन सक्ने देखिन्छ । भारतको हिमालचुल क्षेत्र जस्तो बनाउन सकिने सम्भावना देखिन्छ । हाल देउरा नजिकै एक मात्र होमस्टे रहेको छ । निकट भविस्यमा यस क्षेत्रमा दर्जनौं होमस्टे, होटेलहरु बन्न सक्छन् । जसले गर्दा यहाँका केही व्यक्तीहरुले रोजगार पाउने देखि यहाँका समुदायको र नगर सरकारको आन्तरिक स्रोत बढनुको साथै नगर समृद्ध हुन सक्छ ।
देउरा हित फाउन्डेसनको प्रयास
२०८० भदौ १२ र १३ गते लागेको मेलाको समयमा यस फाउन्डेसनले नगरपालिका सँग समन्वय गरि अघिल्लो दिन नै देउरामा पुगि करिव ३० जना स्वयंसेवक परिचालन गरेर मेलालाई व्यवस्थित गर्नुको साथै स्वास्थ्य शिविर, देउरा क्षेत्रको प्रचारप्रसार र मेला पश्चात् फोहोरमैला विसर्जन एवं सरसफाइ कार्यक्रम लगायतका पृथक कामहरु गरेको थियो । जुन फाउन्डेसनमा म आफैं पनि आबद्ध रहेको छु । फाउन्डेसनले देउराको प्रचारप्रसार, संरक्षण र विग्रेका संरचनाहरुको पुनःनिर्माण गर्ने हेतुले एउटा अभियान चलाएको छ । फाउन्डेसनको नेतृत्वमा केही महिना अगाडि २ पटक रास्कोटका अगुवा, प्राविधिक र पुजारीहरु देउरा मै गएर स्थलगत अनुगमन र सम्भाब्यता अध्ययन गरिएको थियो ।
प्रचारप्रसारको कमिले पछि परेको देउरा क्षेत्रलाइ निम्नलिखित बुँदाहरुमा काम गरेर अघि ल्याउन सकिन्छ :
१.विभिन्न माध्यम मार्फत व्यापक प्रचारप्रसार गर्ने एवं यस क्षेत्रको डिपिआर गर्ने,
२.जिर्ण अवस्थामा रहेको मन्दिरलाइ सर्वपक्षीय सहमति अनुसारको आकर्षक मन्दिर बनाउने,
३.२०७७ सालको वर्षाको कारण कुरुप भएको एवं एकातिरबाट भत्किएको ताललाइ पुनः निर्माण गर्ने,
४.सरकार सँग बडिमालिका मावी रास्कोट देखि देउरा त्रिवेणि धाम सम्मको सडक र देउरा क्षेत्र परिसरमा गोरेटो बाटो जति सकिन्छ छिटो बनाउन पहल एवं अनुरोध गर्ने,
हाल पहिलो चरणमा मन्दिर बनाउनको लागि श्रमदान एवं आर्थिक र भौतिक सहयोगको लागि सार्वजनिक रुपमा अपिल गरिएको छ । मनकारी सहयोगी हातहरु बाट मन्दिर बनाउन आवश्यक पर्ने करिब एक चौथाई आर्थिक रकम फाउन्डेसनको खातामा जम्मा भइ सकेको छ र केही जिन्सी सामानहरु पनि संकलन भइसकेको छ । अझै संकलन हुने क्रम जारी छ । सबै बाट निरन्तर सहयोगको अपेक्षा फाउण्डेसनले गरिरहेको छ । मन्दिरको असोज २८ गते घटस्थापनाको दिन रास्कोट नगरका नगर प्रमुख, उप–प्रमुख र पुजारीहरु बाट सिलान्यास भइसकेको छ ।
देउरा क्षेत्रको लागि रास्कोट नगरले गरेको प्रयास
नगर भित्रका धार्मिक स्थलहरु, पर्यटकीय क्षेत्रहरु लगायतका सम्पदाको संरक्षण, प्रवद्र्धन र विकास गर्ने पहिलो जिम्मेवारी नगर सरकारको नै हो । स्थानीय सरकार आउनु भन्दा पहिले देउरा क्षेत्रको लागि सम्भवत सरकारी तवर बाट कुनै पनि काम भएको थिएन । स्थानीय सरकार आए पश्चात् पहिलो स्थानिय सरकारले देउरामा २ कोठे भवन र धर्मशाला निर्माण, देउरा पुर्याउने उदेश्यले लेकाली भेग सम्म डोजरले सडक खन्ने काम गरेको थियो ।
अहिलेको स्थानिय सरकारले पनि देउरा सम्मै सडकको पहल गरिरहेको छ । सम्भवत यो बर्ष नै देउरा सम्म सडक पुर्याउने लक्ष्य राखेको देखिन्छ । देउरा क्षेत्रको स्तरोन्नति र पर्यटन प्रवद्र्धनको लागि नगर सरकार सकारात्मक देखिन्छ ।
समग्रमा भन्नुपर्दा नगर सरकार लगायत यहाँका राजनितीक नेतृत्वहरुले उल्लेख मात्रामा पर्यटक भित्राउने रणनीतिक र व्यवहारिक योजना बनाउनु पर्छ । हाम्रो पुर्खाले आर्जेको र प्रकृतिले दिएको वरदानको सदुपयोग गर्दै सम्पन्नता तिर लम्किन नेतृत्वको दुरदर्शी सोच र दृढ इच्छाशक्ति हुन आवश्यक छ । आफ्नो ठाउँमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायतका दुर्लभ तथ्य उजागर गर्नु प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो ।
Discussion about this post