लर्निसखबर संवादाता
नेपालगन्ज, ३ पुष
नेपालगञ्जमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सोमबार अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको हो । नेपालगञ्जस्थित विपी चोकमा दीप प्रज्वलन गरेर दिवस मनाइएको सामीका कार्यक्रम संयोजक कमलसिंह नेपालीले जानकारी दिए ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।
सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।
Discussion about this post