लर्निसखबर
नेपालगन्ज, २५ फागुन
बाँकेमा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ । उप–प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज एक औपचारिक कार्यक्रमका विच ‘ट्राफिक सप्ताह’ कार्यक्रमको उद्घाटन गरे । सार्वजनिक सवारी साधनका चालकलाई हेल्मेट लगाएर तथा सार्वजनिक सवारी साधनमा ट्राफिक सचेतनासम्बन्धी स्टीकर टाँसेर ट्राफिक सप्ताहको उद्घाटन गर्दै उप–प्रधानमन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताए ।
यस अवसरमा उनले दुर्घटना रोक्नका लागि गुणस्तरीय सडक, नियम अनुसारको सवारी साधन परिचालन र सर्वसाधारणमा चेतनाको विकास आवश्यक भएकाले सम्बन्धित सबैले यी विषयमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा संयुक्त रुपमा यहाँ सञ्चालन गरिएको ट्राफिक सप्ताहको बिहीबार उद्घाटन गरिएको हो ।
कुनै एउटा मात्र निकाय वा संस्थाले चाहेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउदै उनले सवारी साधनको लाइसेन्स वितरण गर्नेदेखि लिएर सवारी चलाउने, नियमन गर्ने र सर्वसाधारण जनता सबैले आ आफनो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्यामबहादुर खत्रीले ट्राफिक सप्ताहअन्तर्गत सात दिनसम्म गरिने विभिन्न जनचेतनामूलक कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे, सहरी विकास मन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी कुबेर कडायत, नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीनराई लगायतको सहभागिता थियो ।
कार्यक्रम सुरुहुनु अघि जनचेतना जगाउने विभिन्न प्लेकार्डसहितको एक सचेतना -याली बिपी चोकबाट सुरु भई धम्बोझीचोकस्थित कार्यक्रम स्थलसम्म पुगेको थियो । सो -यालीमा विद्यार्थी, अभिभावक, व्यापारी, सर्वसाधारण र सुरक्षाकर्मीहरुको सहभागिता थियो ।
Discussion about this post