लर्निस खबर
नेपालगन्ज, ९ चैत
२१ मार्चको सन्दर्भमा अर्थात ५९औं अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मुलन दिवस, नेपालगन्जमा भब्य कार्यक्रम गरी मनाइएको छ । प्रतिनिधि सभा सदस्य आशा विकको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमले सयुक्त दलित सघर्ष लुज समिति बनाएको छ ।
उक्त समितिको संयोजकको जिम्मा कृष्णबहादुर विवेक रसाइलीलाई दिइएको छ । सघर्ष समितिको सह–सयोजकमा अमरबहादुर विश्वकर्मा, सचिवालय सचिवमा दिलबहादुर परियारलगायत पछि थप्नेगरी ४९ जना रहेका छन् ।
दलित गैसस महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा स्थानीय तहका दलित समुदायको सवालहरु विषयक अन्तरसम्वाद पनि गरिएको थियो । उक्त संवादमा बोल्ने वक्ताहरुले देशमा जातीय विभेद अझै अन्त्य नभएको भन्दै आधुनिक हिसाबले जातीय विभेद भई रहेको बताएका थिए ।
सहभागीले बाँकेका स्थानीय तहले दलितका सवालमा बोल्ने नगरेको, स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिहरुले हस्ताक्षर मात्रै गर्ने गरेको, सहभागिताका हिसाबले दलितको संख्या धेरै कम रहेको, राजनीतिक दलहरुले नै दलित समुदायका व्यक्तिहरुलाई नेतृत्वमा जान नदिएको जस्ता गुनासा गरेका थिए ।
कार्यक्रममा संघर्ष समितिका संयोजक विवेक रसाइलीले मानव अभिकार आयोगले दलितका हकप्रति दस्तावेजमात्रै गर्ने तर परिणाम दिन नसकेको बताएका थिए । ‘छिमेकी राष्ट्रहरुको नेतृत्वको कुरा गर्ने हो भने दलित समुदायका व्यक्तिहरुको पहुँच केन्द्रीय नेतृत्वसम्म पुगेको छ । तर नेपालमा भने कुनै पनि केन्द्रीय पदमा दलितको सहभागिता अहिले हेर्ने हो भने शुन्य छ,’ रसाइलीले भने ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विकले विगतका घटनालाई सम्झना गर्दै परिवर्तन नभएको भन्न नमिल्ने बताइन् । उनले आफ्नो राजनीतिक जीवनमा दलित भएकै कारण धेरै उतार चढाब भोग्नु परेको बताउँदै वर्तमान अवस्थामा धेरै दलित समुदायका महिलाहरु नेतृत्व गर्नसक्ने क्षमतामा पुगेको बताइन् । ‘मलाई अहिले गर्भ लाग्छ, यत्रो महिला दिदी बहिनीहरुको उपस्थिति देखेर,’ विकले भनिन्, ‘दलितका हक अभिकारका लागि धेरै अग्रज व्यक्तित्वहरुले योगदान दिनु भएको छ ।’
Discussion about this post