लर्निस खबर
नेपालगन्ज, २८ चैत
नेपालगन्ज २२ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव दश दिनपछि आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँ को हत्यारा पत्ता नलागेकोले आफन्तले उनको शव बुझ्न मानेका थिएनन् ।
तर प्रहरीले तीव्र गतिमा अनुसन्धान गरेर हत्यारा पत्ता लगाउने प्रतिबद्धता गरेपछि आफन्तले बुधवार खाँको शव बुझेर ईस्लामी परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा अन्तिम संस्कार गरेका हुन् ।
प्रहरीले अनुसन्धानको नाममा परिवारका सदस्यलाई झुक्याइरहेकोले हालसम्म शव नबुझेको मृतक अरबीका काका अब्दुल रहमान खाँले बताए । प्रहरीले अनुसन्धानलाई तीव्र पारेर छिट्टै हत्यारा पत्ता लगाउने प्रतिबद्धता जनाएपछि दश दिनपछि शव बुझेर अन्तिम संस्कार गरिएको उनले बताए ।
यसअघि प्रहरीले अनुसन्धान भइरहेको छ नआत्तिनुस् भनेर आश्वासन मात्रै दिँदै आएको परिवारको गुनासो छ । वास्तविक अपराधी पत्ता लगाउन र निर्दोषलाई नफसाउन परिवारजनले प्रहरीसँग आग्रह गर्दै आएका छन् । वास्तविक अपराधी छिट्टै पक्राउ नगरिए फेरी आन्दोलन गर्ने मृतकका हजुरबुवा पूर्व वडाध्यक्ष रञ्जित खाँले बताए । ‘नातिको हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दासम्म चुप लागेर बस्नेछेनौँ ।’-आक्रोशित हुँदै उनले भने ।
जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट हत्याको कुनै सुराक फेला नपरेपछि सिआइबीको टोली मगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थप अनुसन्धानका लागि सिआइबीको टोली मगाउन परिपत्र गर्न लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
Discussion about this post