लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २९ चैत
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल–फित्र (ईद) विहिबार बाँकेमा पनि धूमधामका साथ मनाइएको छ । इस्लाम धर्मावलम्बीहरूले विहिबार बिहान नेपालगन्ज बिपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेर आपसमा अङ्कमाल गरी शुभकामना साटासाट गरेका छन् । इदगाहमा नअटेपछि सडकमै बसेर समेत नमाज पढिएको छ । नमाजपछि देशमा शान्ति, समृद्धि र सद्भावका लागि विशेष प्रार्थना गरिएको मुस्लिम धार्मिक गुरुहरूले बताएका छन् ।
अन्य समुदायका व्यक्तिहरूले पनि इदगाह क्षेत्र पुगेर शुभकामना साटासाट गरेका छन् । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायत इदगाहस्थल पुगेका थिए । नेपालगन्जमा हिन्दु र मुस्लिम बीच एकले अर्काको धर्म मनाउने परम्परा स्थापित छ । हिन्दु, मुस्लिम, शिख, ईसाई, बौद्ध लगायत धर्ममा आस्था राख्ने समुदायबीच धार्मिक सहिष्णुता बढ्दै गएको छ । विशेषगरी हिन्दु र मुस्लिम समुदायमा अझ बढी धार्मिक सहिष्णुता झल्किन्छ । नेपालगन्ज सहरको विशेषता नै विविधतामा एकता रहेको यहाँका सर्वसाधारण बताउँछन् ।
ईदको अवसरमा नेपालगन्जका विभिन्न ईदगाहमा पुगेर बिहीबार ठुलो संख्याका मुस्लिम समुदायले नमाज पढे । त्यस क्रममा मुस्लिम र गैर मुस्लिम समुदायबीच एक अर्कामा अंकमाल गरेर शुभकामना साटासाट गरिएको देख्न सकिन्थ्यो । तपाईलाई पनि ईदको हार्दिक शुभकामना-मुवारकवाद ।
Discussion about this post