लर्निस खबर
नेपालगन्ज, 4 जेठ
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले डुडुवा गाउँपालिका सङ्ग अन्तरक्रीया कार्यक्रम गरेको छ ।
यस पालिका मातृ मृत्यु उच्च भएको पालिका मध्ये एक हो ।
स्वास्थ्य निर्देशनालयका प्रतिनिधी मन बहादुर वलीद्वारा प्रस्तुत गरिएको तथ्यांक अनुसार उच्च मातृ मृत्युदर बाँकेको पाँच पलिकाहरुमा रहेको छ । जसमा नेपालगन्ज उप-महानगरपालीका, डुडुवा गाउँपलिका, नरैनापुर गाउँपलिका, राप्तिसोनारी गाउँपलिका र जानकी गाउँपालिका रहेका छन । डुडुवा गाउँपालिकामा मात्र प्रतिहजारमा ५ जनाको मातृ मृत्यु हुने तथ्यांकले बताएको छ । नियमानुसार गर्भ परिक्षण, स्वास्थ परिक्षण तथा सामान्य सुत्केरी भए पश्चात् स्वास्थ्यकर्मीको निगरानिमा राख्नुपर्ने समय नमिल्ने तथा गुणस्तरीय नहुने लगाएतका कारणहरुले मातृ मृत्युदर उच्च रहेको बिषयमा अन्तरक्रीया गरिएको हो ।
डुडुवा गाउँपालिकामा जम्मा ६ ओटा स्वास्थ्य संस्थाहरु रहेका छन । जसमध्ये चार ओटा बर्थिङ सेन्टर रहेको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । पालिकामा जटिल अवस्थामा रहेको मातृ मृत्युदरमा कमी ल्याउनका लागि पालिकास्तरबाट पनि विविध कार्यक्रम अवलम्बनका लागि योजना बनाईरहेको उनले जानकारी दिए । पालिकामा रहेका ५९ जना सामुदायक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरि आमा समूह निर्माण गरि यस्ता खालका महत्वपुर्ण विषयमा स्थानीयस्तरमा पनि छलफल र जानकारी दिने गरेको जनाए ।
कार्यक्रममा उपस्थित यस पालिकाका स्वास्थ्यकर्मी तथा बर्थिङ सेन्टरका अनमीहरुले आवश्यक भौतिक स्रोत साधनको कमी र गर्भवती महिलाले स्वास्थ्यको जटिलतालाई बुझ्न नसक्दा अंझ धेरै समस्या भैरहेको बताए । त्यस्तै जनताले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवा अन्तर्गत बनेको जनस्वास्थ्य सेवा ऐनमा व्यवस्था गरिएका कुराहरु निर्देशनालयका कौशल भण्डारीले प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा मातृ मृत्यु भएका केहि परिवार सङ्ग पनि अन्तरक्रिया गरिएको थियो । कार्यक्रमका सभाध्यक्ष रहेका बाँके जिला स्वास्थ्य शाखा प्रमुख अंगत बहादुर शाहीले मातृ मृत्युमा कमी ल्याउन गम्भीर हुन आवस्यक औल्याउँदै आम नागरिक, स्वास्थ्यकर्मी तथा नीति नियम बनाउने सबैले कानुन, नियम र मानव धर्म पालना गरे समस्याको समाधान सजिलै हुन सक्ने बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले मातृ मृत्युको गम्भीर अवस्था रहेका पालिकाहरु सङ्ग अन्तरक्रिया कार्यक्रम निरन्तर गरिरहने र समाधानका लागि बिध्यालयमा रक्त अल्पता परिक्षण तथा आइरन चक्की बितरण लगाएतका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
Discussion about this post