नेपाल कृषि प्रधान देश हो भनेर भाषण गर्ने हाम्रा नेताहरुको कृषिमा योजना भने शुन्य देखिन्छ । बाँकेको सन्दर्भमा बैजनाथ गाउँपालिकाले भने नेपाल कृषि प्रधान देश हो भन्ने कुरालाई पुष्टि गर्ने लयमा देखिन्छ । यसै सन्दर्भमा बैजनाथले कृषि क्षेत्रको प्रवन्धनका लागि कस्ता योजनाहरु अघि सारेको छ र कस्ता योजनाहरु कार्यान्वयनमा ल्याउन सफल भएको छ भन्ने विषयमा लक्ष्मी तिमिल्सेनाद्वारा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीसँग गरिएको संवाद…
बैजनाथ गाउँपालिकाले कृषि क्षेत्रमा के–कस्तो योजना अघि सारेको छ ?
बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०-२०८१ मा किसानसँग पालिका प्रमुख कार्यक्रम अघि सारेको छ । यसका लागि पालिकाले करिब ८ करोडको बजेड तय गरेको छ । नेपालमा रहेका ७५३ वटै गाउँपालिकामध्ये बैजनाथले मात्रै कृषिका लागि भनेर यो मात्रामा बजेटमा कार्यक्रम तय गर्ने पहिलो पालिका हो । पालिकाभित्र कृषि शाखा, पशु शाखाको कार्यक्रमसहित किसानसँग अध्यक्ष कार्यक्रम समावेश छन् । विशेषगरी कृषि क्षेत्रलाई बैजनाथले विशेष प्राथमिकता दिनुको मुख्य कारण ६५ देखि ७० प्रतिशत व्यक्ति कृषि कार्यमा नै संलग्न छन् ।
पालिकाको आर्थिक समृद्धि तथा उन्नतिका लागि यस कार्यक्रमअन्तर्गत विशेषगरी सिँचाइका लागि १ करोड ८० लाखभित्र ड्याम बनाउने, सिँचाइ कुलो निर्माण, संचित पोखरी बनाउने, पम्पीसेट दिने, समरसेल दिने, बोरिङ्ग लगाउने जस्ता कार्य छन् । यस्तै यान्त्रिकरण गर्नेअन्तर्गत नै यस्ता कार्य तय गरिएका छन् । यस्तै गाउँपालिकाको प्रशासकीय भवन रहेको रामपुरको भवन क्षेत्रमा खाद्यान्न डिपो र बैजनाथ गाउँपालिका वडा नं–२ मा बीउ खाद्यान्न डिपो निर्माण गरिएको छ । यसको मूल उद्देश्य किसानहरु मूल बीउ वितरण र ग्रेडिङ्ग गरेर किसानलाई उपलब्ध गराउने हो । यसमा धान, तेलहन बाली, गहुँको मूल बीउ तथा आवश्यक खाद्यान्न किसानलाई सहज र सुलभरुपमा समयमा दिनसक्ने नै हो ।
खाद्य डिपो भनेको किसानहरुको उत्पादन भण्डारण गर्ने हो । किसानले वर्षौदेखि खाद्यन्न उत्पादन गरिरहेका हुन्छन् । तर किसानहरु समस्यामा परेको बेला त्यही खाद्यान्न बढी मुल्यमा किनेर प्रयोग गर्नुपर्ने अवस्था हुन्छ । किसानको कुनै जागिर हुँदैन तर समस्या पर्दा त्यही किसानलाई बढी मूल्य तिर्न पर्दा गाह््रो भएको हुन्छ ।
जस्तो कि किसानले उत्पादन गरेको खाद्यान्न आवश्कताभन्दा बढी भएकालाई बेच्नु हुन्छ । अर्थात तत्काललाई चाहिएको जति राखेर अरु बेच्नुहुन्छ । तर पछि किसानहरुले नै बेचेकोभन्दा बढी मूल्यमा किन्नुपर्ने बाध्यता हुन्छ । हो यो समस्या समाधानका लागि पालिकाले खाद्यान्न डिपो निर्माण गरेको हो । किसानहरुको उत्पादन खरिद गरेर भण्डारण गर्ने र भोलीका दिनमा स्वास्थ्य, शिक्षालगायतका कुराहरु ग्रहण गर्ने क्रममा घरमा समस्या भएको बेला सामान्यभन्दा पनि सामान्य व्यवस्थापन खर्च लिएर उनीहरुले बेचेको भन्दा एक दुई रुपैयाँ बढी लिएर सहजरुपमा किसानलाई नै उपलब्ध गराउनेगरी नीति नै निर्माण गरेर अघि बढेका छौं ।
यसका लागि भनेर नै किसान एम्बुलेन्ससमेत व्यवस्था गरेका छौं । किसानले उत्पादन गर्ने खाद्यान्नलाई सुरक्षित बनाउन एम्बुलेन्स खरिद प्रक्रियामा रहेको छ । साथै १० वटा अटोरिक्साको व्यवस्थापन गरिएको छ । किसानले उत्पादन गरेका तरकारीहरु सहज डिपोमा पु-याउन र बजार लगेर बेच्न सहज बनाउन अटोरिक्सा व्यवस्थापन गरिएको हो । यो ७० प्रतिशत अनुदानमा उपलब्ध गराइनेछ ।
हालसम्म कति किसानलाई अनुदानमा बीउ–विजन लगायतका कुराहरु प्रदान गर्नु भएको छ ?
विशेष गरेर किसानहरुले गहुँको बीउ, धानको बीउ, समरसेल, पम्पिसेट र पाइपहरु दिने कार्य भएको छ । र यो दिने प्रक्रिया अलि फरक छ । यसका लागि नितान्त टेण्डर आह्वान गरेर नै गर्ने गरिएको छ । यस्तै सिँचाइका लागि पम्पिसेट, समरसेल, डेलिभरी पाइप, लालटिन, यान्त्रिकरणमा पावर ट्रिलर, मिनी ट्रिलरका उपकरण वितरण गरेका छौं ।
गाउँपालिकाले किसानका लागि नयाँ काम योजना निर्माण त गर्छन् तर बैजनाथले किसानलाई धेरै प्राथमिकता दिएर योजना अगाडि बढाउनुपर्ने कारण के हो ?
बैजनाथ गाउँपालिकामा किसानहरुको बाहुल्यता छ । यहाँको जमिन उर्वर, उत्पादनशील भएकाले खाद्यान्न उत्पादनमा राम्रो गर्न सकिने प्रशस्त सम्भावना भएको क्षेत्र पनि हो । किसानलाई स्वरोजगार बनाउनका साथै किसानलाई उत्पादनमा जोडन आवश्यक छ । बजारीकरणसँग जोडेर किसानलाई अनुदान उपलब्ध गराएको खण्डमा उनीहरुको आत्मबल बढ्ने, लगानी गर्ने, मेहनत गर्ने कार्य वृद्धि भएर जानेसँगै आफ्नो जिवीकोपार्जनमा सुधार ल्याउने कार्य हुन्छ । किसानहरुले उत्पादन गरेको खाद्यान्न सहजरुपमा व्यवस्थापन र बजारीकरण हुन सकेमा कृषिमा क्रान्ति ल्याउन सकिन्छ । बैजनाथका वासीन्दामा आर्थिक समृद्धिमा जाँदा पालिकालाई समेत आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुन्छ । किसानको उत्पादन उपभोक्तामाझ पु¥याउनका लागि तरकारी बजार निर्माणसमेत गरिएको छ । यसले बेरोजगार युवालाई आफ्नै ठाउँमा रोजगार दिएर रोक्न पनि सकिन्छ ।
पछिल्लो समय रोजगार नपाएर, काम नपाएर वैदेशिक रोजगारीका लागि देश बाहिरिने युवाहरुको जमात ठूलो छ । पालिकाले यस्तो कृषि कार्यक्रमले त्यस्तालाई स्वदेशमा रोक्न सक्ने सम्भावना छ त ?
सम्भावना र चुनौती दुवै हुन्छ । यी सबैलाई ध्यान दिएर नै अगाडि बढेका छौं । सम्भावना छ, नहुने हैन । विगतमा २०७९÷०८० मा संचालन गरिएको कार्यक्रमले यहाँका किसानहरु हर्षित भएको पाएका छौं । उहाँहरुले सरकारको कार्यक्रमलाई स्वागतसमेत गरेका छन् । किसानहरुको सक्रियताले आफूहरुको मनोबल पनि बढेको छ । सिँचाइको अभावले किसानको जमिन बाँझो रहेको देखिए पछि हामीले उहाँलाई शिक्षित गर्ने कार्यक्रम बनायौं र उक्त बाँझो जमिनमा विभिन्न खाद्यान्न बाली लगाएर उत्पादन गर्न सकिने भनेर पालिका कार्यक्रममार्फत अघि बढ्यौं । त्यसलाई प्रविधिसँग जोडेर अघि बढाउनका लागि विभिन्न प्रतिक्रिया र सेवा प्राप्त गर्ने व्यवस्था गरेका छौं । तत्काल किसानको सहजताका लागि जियो कृषि एप्लिकेशनसमेत जडान गरिएको छ । यसले किसानको समस्या र समाधानको उपायसमेत खोजी गर्ने कार्य गरिरहेका छौं । त्यसकारण कृषिमा सम्भावना धेरै छ । किसानमुखि कार्यक्रम ल्याउने हो भने किसानहरु खुशी हुनुहुन्छ उत्पादन गर्नुहुन्छ, योसँग जोडिनुहुन्छ र त्यसपछि आफ्नो परिवारसँगै बैजनाथको समृद्धि हुने हुँदा यसको प्रचुर सम्भावनाका आधारहरु हुन् । बैजनाथको मुहार फेर्न सकिन्छ भनेर लागेका छौं ।
कृषि कार्यक्रमअन्तर्गत खेतीपातीसँगै अन्य पक्षहरुमा के–के जोड्नु भएको छ ?
हामीले कृषि र पशुलाई यसमा जोडेका छौं । कृषिसँगै पशुमा विशेष गरेर हिउँदे घाँसको बीउ वितरण, व्यवसायीक नर्सरी व्यवस्थापन, पशु बीमा कार्यक्रम, पशुहरुमा भ्याक्सिन, लम्पिस्किन रोगबिरुद्धको अभियान, सुत्केरी पशुलाई दाना, भिटामिन वितरण, पशुपंक्षी, बंगुर वितरणलगायत विभिन्न किसिमका गोष्ठीहरु जस्ता कार्य रहेका छन् । बाख्रा तथा बंगुर वितरणमा ७० प्रतिशत अनुदान दिने कार्यक्रम छ । संघीय तथा प्रदेश सरकारको कार्यक्रममा डुप्लीकेशन नहोस् । जस्तो कि ५० प्रतिशत अनुदानमा दिइने कार्यक्रममा केही गर्न चाहने किसानको पहुँच नै पुग्दैन । ५० प्रतिशत जोड्नसक्ने र हुने खाने नै यस्ता कार्यक्रमबाट लाभन्वित भएको देखिन्छ । गर्न सक्ने तर आर्थिकरुपमा विपन्न किसानले अनुदानबाट पाउने रकम जोहो गर्न नसक्ने भएकाले त्यस्ता किसानलाई लक्षित गर्दै ७० प्रतिशत अनुदानमा दिइने कार्यक्रम राखिएको हो । यसले किसानहरु धेरै खुशी भएका छन् । यसमा उन्नत जातको भैँसी अनुदान, पशुहरुको खोर निर्माण (कतिपय अवस्थामा खोरको व्यवस्थापन नहुँदा उत्पादनमा समस्या), माछापालन, विद्युतीय चारा मेसिन वितरण, दाना मेसिन वितरण, दुग्ध उत्पादन कार्यक्रम, मासु प्रवद्र्धन कार्यक्रम, पशु दाना प्रवद्र्धन कार्यक्रमहरु गरेर गौरवका साथ भन्नुपर्दा बैजनाथले किसानको मुद्दा उठाएको छ ।
किसानका लागि नमूना कार्यक्रमअन्तर्गत खाद्यान्न डिपो निर्माण गर्नु भएको छ । किसानहरुलाई सामान्य शुल्कमा खाद्यान्न उपलब्ध गराउने, डिपो संचालन तथा किसानलाई वितरण प्रक्रिया के, भण्डारण क्षमता कति छ ?
भण्डारण क्षमताको कुरा गर्नुपर्दा २० ट्रक बराबरको खाद्यान्न राख्न सक्नेगरी खाद्यान्न डिपो निर्माण भएको छ । विशेषगरी किसानको मुद्दालाई मध्यनजर गर्दै गर्दा दैनिकी संचालन गर्न गाह्रो हुने अवस्था पनि सृजना पनि हुन्छ । किसानको आर्थिक आर्जनको माध्यम भनेको उत्पादन हुन्छ । तर उत्पादन गरेर बिक्री गरेको खाद्यान्न आवश्यक परेको पेला दोब्बर रकम तिरेर ल्याउनुपर्ने हुन्छ । त्यसकारण त्यस्तो अवस्था आउन नदिनका लागि यो डिपो संचालन गर्न लागेका छांै । यसका लागि किसानहरुको वर्गिकरण गर्ने, कति जनाको परिवार, जागिर गर्ने कति जना, शुद्ध किसान लगायतका विवरणसहितको किसानलाई कार्ड (परिचयपत्र) वितरण गरेर जान्छौं । खाद्यान्न बिक्री गर्न चाहने किसानको हामीले सरकारी दररेटमा खरिद गर्छौं । यो भनेको खाद्यान्नको मूल्य वृद्धि बिचौलियाबाट बचाउने प्रयास पनि हो । त्यही अनुसार किसानको घरबाट नै कृषि एम्बुलेन्समार्फत् ढुवानी गर्छौं । र जसलाई खाद्यान्न आवश्यक छ त्यसको कार्ड अनुसार पहिचान गरेर उपलब्ध गराउन आवश्यक रहेकालाई उपलब्ध गराउँछौं । पहिलो प्रथामिकतामा आवश्यकता भएका किसान हुन्छन् भने उहाँले नलिएपछि अन्य परिवार अथवा किसानलाई उपलब्ध गराइनेछ ।
कृषि क्षेत्रमा हालसम्म गरिएका कार्यहरुमा कहाँ–कहाँ के कुराहरुमा उपलब्धी देखियो छ त ?
कृषि शाखामार्फत कृषि फर्म र पशु शाखामार्फत पशु फर्महरु सूचिकृत गर्ने काम हुन्छ । यसरी सबैको विवरण प्राप्त हुन्छ र बिगतमा जमिनको अवस्थालाई मध्यनजर गर्दै गरिएका उत्पादनको मूल्याकन गरिन्छ । पशुहरुमा यसअघिको गरिएको लगानीपछि अवस्थाको अनुगमन गरिएको छ । विगतमा अनुदानमा उपलब्ध गराइएको बाख्रा, बंगुर, पश र कुखुरा पालनमा आशातित उपलब्धी (वृद्धि) देखिन्छ । किसानहरु सरकारले लगानी गरेको छ, हामीले पनि यसको प्रवद्र्धन गरेर आफ्नो जिवीकोपार्जनलाई सहज बनाउनुपर्छ भनेर लागेका छन् । समग्रमा विगतमा भएका कार्यहरुको उपलब्धी सकारात्मक वृद्धितर्फ देखिएको छ । सकारात्मक विकास भएको देख्दा हामीलाई खुशी लागेको छ । साथै उपलब्धीमूलक बनाउन हामी निरन्तर अनुगमन गर्ने कार्य पनि गरिरहेका छौं ।
भनेकै जस्तो चाहीँ हुन नसके पनि त्यसका लागि अझै समय लाग्नेछ । सरकारले किसानसँग पालिका अध्यक्ष कार्यक्रम ल्याएको छ । यसमार्फत् सन्तुष्ट बनाएर स्वरोजगार बनाउने र जिवीकोपार्जनमा सहज बनाउनुका साथै कृषि क्रान्ति ल्याउन बैजनाथ गाउँपालिका लागेको छ । संघीय तथा प्रदेश सरकारसँग निरन्तर कार्यक्रम ल्याएर किसानलाई अगाडि बढाउने कार्यमा कम्मर कसेका छौं । जसरी पनि बैजनाथलाई कृषिमैत्री पालिका बनाउन लागि परेका छौं ।
Discussion about this post