लर्निस खबर
नेपालगन्ज, १९ असोज
उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ माथी चर्चा गरिएको छ । शनिवार नेपालगन्जमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त आख्यान माथि चर्चा गरिएको हो ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान द्वारा आयोजित अहिल्यामाथि परिचर्चा तथा विजया दशमी २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रममा ‘अहिल्या’को चर्चा गर्दै समालोचकहरु हरि तिमिल्सेना, चरित्रा शाह तथा लेक प्रसाद प्याकुरेलले नारी पात्रलाई मुल बनाएर लेखिएको आख्यान भएपनि नारीवादी दृष्ट्रिकोणमा कहिँकतै चुकेको होकी जस्तो लागेपनि न्याय दर्शन, कर्म दर्शन लगायतका कुरामा उपन्यास अब्बल बनेको बताएका थिए ।
उनिहरुले उपन्यासको सबै स्थानमा अहिल्या नअटाएको भन्दै पौराणिक कथामा काल्पनिकता मिसाउन नमिल्ने भएकोले पनि त्यसमे भएको हुनसक्ने अभिव्यक्ति दिएका थिए । यद्यपी त्यहाँ बोल्ने वक्ताहरुले उपन्यासमा कँहिकतै लेखकले आफ्नो प्रयोग पनि मिसाएको औंल्याएका थिए । साथै उनिहरुले वैदिक संस्कृतिमा ‘अहिल्या’ नभई ‘अहल्या’ लेखिएको भन्दै आख्यानको नाम र पात्र प्रति पनि जिज्ञासा व्यक्त गरेका थिए ।
आफ्नो कृतिमाथि गरिएका टिप्पणीहरु पछि भनाई राख्दै उपन्यासकार आचार्यले शुरूमा पाण्डुलिपिमा अहिल्या नाम नभई गौतम भएको प्रसङ्ग उठाएकी थिईन् । उपन्यासकार आचार्यले कृतिको नाम गौतम भएको भएपनि सम्पादनका क्रममा आएको सुझावलाई मानेर पुस्तकको नाम अहिल्या राखेको बताईन् ।
कार्यक्रमका अन्य वक्ताहरुले नेपालगन्ज आख्यानको हव बन्दै गएको बताएका थिए । साथै उनिहरुले यस क्षेत्रको ‘श्रीवृद्वी’मा आख्यानकार किरण आचार्यको पनि योगदानको चर्चा गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय शशिराम कार्की तथा महानन्द ढकाल, प्राध्यापक डाक्टर जनार्दन आचार्य, खगेन्द्र गिरी ‘कोपिला’ लगायतले बोलेका थिए । भने, कार्यक्रमको सञ्चालन कवि भिम प्रज्वलले गरेका थिए ।
मध्यपश्चिमको शहर नेपालगन्जलाई सिर्जनाभूमि बनाइरहेकी किरण आचार्यको तेस्रो पौराणिक आख्यान हो, अहिल्या । श्रापित सुन्दरी अहिल्यामाथि लेखिएको यो आख्यानले नारी अस्मिता र अस्तित्वको वकालत गरेको छ । स्वर्गका राजा इन्द्रको दोष हुँदाहुँदै पनि आफ्नै पति गौतमबाट ढुङ्गा बन्ने श्राप पाएकी अहिल्याको उन्मुक्तिकथा यसमा समेटिएको छ । सरल भाषा, सरस शैली र सहज शिल्पमा बुनिएको यो उपन्यास पठनीय छ ।
यसअघि आचार्यका जरत्कारु र परशुराम उपन्यास प्रकाशित छन् । भने, उपन्यासकार किरण आचार्यको यो नवौँ कृति हो भने यसअघि उनका दुई थान उपन्यास अनि एउटा कवितासङ्ग्रह ‘अनुभूति’, एउटा मुक्तकसङ्ग्रह ‘अस्तित्व’, एउटा कथासङ्ग्रह ‘क्यान्टोनमेण्ट’, एउटा लघुकथा सङ्ग्रह ‘सृष्टिचक्र’ र एउटा ‘हाम्रा देवदेवी भ्रम र यथार्थ’ लेखसङ्ग्रह र एउटा थारू जातिका लोककथा थारू भाषामै लेखिएको कथासङ्ग्रह प्रकाशनमा आइसकेको छ ।
Discussion about this post