लर्निस खबर
नेपालगञ्ज, १३ कात्तिक
मुस्लिम महिलाहरुमा हुने सबै प्रकारका विभेदको अवस्थाको बिषयमा आज नेपालगन्जमा छलफल गरिएको छ ।
महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धी ‘सिड’ अनुसार नेपालका मुस्लिम महिलाहरुको अवस्थाको बिषयमा अन्तर प्रदेशस्तरिय छलफल गोष्ठी गरिएको हो । मुस्लिम महिला कल्याण समाजको आयोजना र वुमन्स फन्ड एसियाको सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा ६ वटा प्रदेशबाट करिब ३० जना सहभागी रहेको आयोजकले जनायो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी पुर्व मन्त्री तथा लिम्बिनी प्रदेश सभा सदस्य कृष्ण के.सी नमुनाले कार्यक्रममा बोल्दै मुस्लिम महिलाहरुको सशक्तीकरणको प्रक्रियामा के–के उपलब्धी भयो र अब गर्नुपर्ने कुरा के–के हो भन्ने कुरा स्पष्टता भयो भने काम गर्न सजिलो हुने बताइन । पछिल्लो समय मुस्लिम समुदायका महिलाहरुमा पनि नेतृत्व क्षमता बिकास भएको उनको भनाई थियो । त्यस्तै उत्घाटन सत्रलाई समापन गर्दै आयोजक संस्थाकी अध्यक्ष सिमा खानले मुस्लिम समुदायका महिलाहरु अब कसैको लागी प्रयोग नहुने र आफ्नो अधिकारको लागी आफैँ लड्ने, आफै काम गर्ने र नेतृत्व तहमा पुगेर अर्थपूर्ण सहभागीता जनाउने बताइन् ।
नेपालले सन् १९९१मा सिड महाशन्धीमा हस्ताक्षर गरेर पक्षराष्ट्र भएको र अहिलेसम्म यूएनलाई दिइने नेपालमा महिलामाथि हुने सबै प्रकारका भेदभावको अवस्थाको प्रतिवेदनमा मुस्लिम महिलाहरुको अवस्था नपर्ने गरेको अध्यक्ष खानले बताइन् । उनका अनुसार यस छलफल गोष्ठिबाट पनि उक्त प्रतिवेदन बनाएर नेपालमा समग्र मुस्लिम महिलामाथि हुने सबैप्रकारका भेदभावको अवस्थाबारे प्रतिवेदन यूएन समक्ष प्रस्तुत गर्न सहज हुनेछ ।
विभिन्न प्रदेशबाट विभिन्न क्षेत्रमा रहेर मानव अधिकार र समाज सेवामा लागिरहेका महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा सिडको धारा ६ देखि धारा १६ को छलफल गरिएको थियो जसमा मानव अधिकारकर्मी रबिन्द्र कर्णले सहजीकरण गरेका थिए । जसमा सहभागीहरुलाई समुह विभाजन गरी सामुहिक कार्य गर्न लगाई प्रस्तुतीकरण गर्न लगाइएको थियो ।
यस कार्यक्रमले समग्र मुस्लिम महिलाहरुको सवालमा काम गरिरहेका सम्पुर्ण अधिकारकर्मीहरुलाई थप उर्जा मिल्ने र यूएनमा पठाउने प्रतिवेदन तयारीमा पनि आफ्ना समुदायको अवस्था राख्न पाउँदा पछिका दिनमा अवस्था सुधार र विभेद निर्मूल पार्नमा सहज हुने सहभागीहरुले बताएका थिए ।
Discussion about this post