लर्निस खबर
नेपालगन्ज, ५ पुष
लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले ‘घुम्न जाँउ बर्दिया’ अभियान सुरु भएको छ । स्थानीय सरकार ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारले ‘घुम्न जाउँ बर्दिया’ अभियान’सुरु भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीवार अभियानको शुभारम्भ गरे ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रम अन्तरगत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रूपमा लिएको छ ।
जस अन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो । अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट भएको बताए ।
‘बर्दिया जिल्लाको ऐतिहासिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्य स्थल हो’उनले भने,‘लुम्बिनी प्रदेशबासीलाई एक पटक बर्दिया पुग्ने गरी, भ्रमण गर्ने गरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।’
प्रदेश सरकारले कर्मचारीहरूलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि दश दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गरे ।
उनले भने,‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अभियान पर्यटनबाट सम्भव छ । त्यही भएर सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ ।’
बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिंगो प्रदेशको समस्या भएकाले प्रदेश सरकारले समाधानकालागि ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे । समस्याको वर्गीकरण गरेर तीन तहका सरकारले साझा रुपमा सम्बोधन गर्नेगरी पहल सुरु भएको भनाइ उनको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ ।
उद्घाटन कार्यक्रममा लुम्बिनीसहित ७ वटै मन्त्रालयका मन्त्रीहरू, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटन विकासका लागि सरकारले निरन्तर अभियान चलाउने बताए ।
Discussion about this post