साबित्री विश्वकर्मा
१९ पुष
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भर्खरै सकिएको छ । यो अवधीमा लैङ्गिक हिंसा विरुद्ध कामगर्ने संघसंस्था र अधिकारकर्मीहरुले माहोल निकै सक्रिय बनाए । लैङ्गिक हिंसा विरुद्धको दिवस मनाइनु आँफैमा सह्रानिय कार्य हो । यस्ता दिवसलाई बृहत रुपमा सार्वजनिक गरी मनाउन सके धेरै व्यक्तिहरु सचेत हुने अवसर पाउँछन् ।
सचेत भन्ने शब्द आफैमा जटिल शब्द हो । मान्छेलाई चेतनशील (सचेत) प्राणी भनिन्छ तर सबैभन्दा धेरै हिंसा गर्ने र सहने प्राणी पनि मान्छे नै हो । र यही मान्छेमा नै सचेतना फैलाउन निकै आवश्यक कुरा भएको छ आजको समयमा । हरेक मान्छे आफ्नै चेतनाको दास भएको छ । हरेक मान्छेमा आफ्नै चेतना हुन्छ र यही चेतनाबाट मान्छे परिचालित छ र हुनुपर्दछ । यसरी मान्छे आफ्नो चेतनाको दास भएको छ भनिरहँदा यहाँ यस्ता मानव जाती पनि छन् जसलाई मान्छेको दर्जा दिएको छैन यो पितृसत्ताले गाँजेको समाजले । धेरै व्यक्तिहरुलाई आफ्नो चेतनाबाटमात्र परिचालित हुनुपर्दछ भन्ने भान हुन अझ धेरै समय लाग्ला ।
लैङ्गिक हिंसा भन्ने वित्तिकै ‘हिंसा महिलालाई मात्र हुन्छ र हामी पुरुष कति धेरै पिडीत छौँ ।’ – भन्ने जमातले महिलाको पिडा र महिलामाथि हिंसाको सिमा त्यो जमातले महशुसीकरण गर्नै सकिरहेको छैन् । महिला जापनि आफ्नै चेतना र विवेकबाट परिचालित हुन सक्छन् र हुनुपर्दछ भन्ने सत्यलाई अझैँ स्वीकार्न सकेको छैन यो समाजले । उनीहरुको विचारभन्दा अलि फरक विचार तथा प्रस्ताव राख्दा ‘कस्ले सिकायो फेरी यसलाई?, कसले कान भर्छ के ?, कसले उचाल्यो फेरी ?, तिमीलाई त सुहाएन, पोथी बासेको राम्रो हुँदैन?’ यी र यस्तै कति कति । कसरी राम्रो लाग्छ त महिलाले आफ्नो बिचार प्रस्तुत गरेको आफ्नो विचारद्वारा परिचालित भएको । किनकी अहिलेसम्म हाम्रो परिवार र समाजलाई इज्जतिलो बनाइराख्ने ठेक्का त स्त्री जातिको न हो भन्ने भ्रमले ठाँउ लिएको छ ।
यो समाजले अझै पनि महिलाको आफ्नै बिचार हुन्छ । उनीहरु आफ्नै विवेकद्वारा नै परिचालित हुनुपर्दछ । र उनीहरुको बिचार स्वीकार गरी विमर्श गर्नुपर्छ भन्ने सोच्न सकेन भने अझैँ धेरैका परिवार तोडिनेछन्, समाजमा यस्ता हिंसाका जालोहरु तोड्न विद्रोह जन्मिनै रहनेछ ।
बरिष्ठ पत्रकार तथा राजनितिक विश्लेषक नरेन्द्र जंग पिटर भन्नुहुन्छ “विवेक हुकुममा चल्दैन” । त्यसैले कसैको हुकुममा हामी चलिरहेका छौँ भने आफैँलाई प्रश्न गर्न जरुरी छ । यसमा महिला आफैँले पनि अब यो बुझ्न जरुरी छ कि हामी आफूसंग भएको स्वविवेकद्वारा परिचालित हुनुपर्दछ । यो हुनुको अर्थ आफैमाथी विश्वास गर्नु हो । सबैभन्दा ठूलो सशक्तिकरण यो नै हुनेछ ।
Discussion about this post