लर्निस खबर
बर्दिया, १९ पुष
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजय राज सुवेदीले उमेर पुगेका रूख कटान र तिनको स्थानमा नयाँ बिरुवा उमार्ने प्रक्रियाले दिगो वन व्यवस्थापनलाई सहयोग पु-याउने बताएका छन् ।
डिभिजन वन कार्यालयद्वारा आयोजित दिगो वन व्यवस्थापन तथा सम्बद्र्वन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी पत्रकारसँग अन्तरक्रिया-गोष्ठि कार्यक्रममा उनले उक्त कुरा बताए ।
प्रमुख सुवेदीले वन व्यवस्थापन प्रणालीले वन क्षेत्रलाई उत्पादनशील बनाउनेमा जोड दिंदै डिभिजन वन कार्यालयले वन व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, वन विकास, पैदावार बिक्री वितरण र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई आफ्नो मुख्य कामका रूपमा अघि सारेको जानकारी गराए ।
उनले काठदाउरा वितरण, जैविक मार्गको व्यवस्थापन, वन डढेलो नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका गतिविधिलाई वन कार्यालयले प्राथमिकतामा राखेको र यसले बर्दियाको दिगो वन व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।
प्रमुख सुवेदीले भने,– ‘बर्दियामा हाल २८२ सामुदायिक वन छन् । सामुदायिक वनहरूको प्रभावकारी भूमिका र सहकार्यमा सरकारले नयाँ योजनाहरू कार्यान्वयन गरिरहेको छ । यीमध्ये १६ वटा वन व्यवस्थापन योजनाहरू संशोधन भइसकेका छन् भने बाँकीलाई हालको प्रणालीअनुसार परिमार्जन गरिनेछ ।’
उनका अनुसार, दिगो वन व्यवस्थापन प्रणालीअनुसार बर्दियामा अनुमानित ६ हजार हेक्टर वन क्षेत्रको ३ हजार देखि ४ हजार रूख कटान गरिने छ । यो प्रक्रियाले वातावरणीय सन्तुलन कायम गर्दै जंगललाई पुनर्जन्म दिनेछ । पुनरुत्पादन कटान, पत्ल्याउने कटान र सुधार कटान गरेर जंगललाई थप हराभरा बनाईने छ ।
Discussion about this post