प्रवेश सिङ ठाकुर
नेपालगन्ज, २७ पुष
बाँकेको डुडुवा गाउँपालिकाले आव्हान गरेको गाउँसभालाई कार्यपालिकाका सदस्यहरुले बहिस्कार गरेका छन् । यही पुष २६ गते डुडुवाले बोलाएको कार्यपालिकाका बैठक बहिस्कार गरेका बहुमतका सदस्य र वडाध्यक्षहरुले गाउँसभा बहिस्कार गरेका हुन् ।
कार्यपालिका सदस्य र वडाध्यक्षहरुसँग कुनै छलफलनै नगरी आफ्नो मनोमानी विधेयक र प्रस्ताव ल्याउन लागेको भन्दै बैठक बहिस्कार गरिएको उनीहरुले बताएका छन् । बहिस्कार गर्ने समूहको कार्यपालिका सदस्य शमुसद्दीन सल्मानीको अध्यक्षतामा शनिवार बसेको बैठकले विभिन्न निर्णयसमेत गरेको छ । कार्यपालिका बैठक र गाउँसभामा विभिन्न असहमति भएकोले बैठक बहिस्कार गरिएको कार्यपालिका सदस्य शिव जैसवालले बताए ।
उनले भने, ‘गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तानाशाही तरीकाले पालिका चलाउन खोजेका छन, त्यो मान्य हुँदैन । डुडुवाको कार्यपालिकाको बैठक नेपालगन्जमाका होटलहरुमा बस्छ । त्यो पनि अधिकांश सदस्यहरुको जानकारी विना । यो कस्तो बैठक हो ?’
गाउँपालिकाले ल्याउन लागेको विधेय र प्रस्तावमा असहमति जनाउँदै ११ जनासहित बहुमतको कार्यपालिका सदस्यहरुले बैठक नै बसेर गाउँसभा बहिस्कार गरेको डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताएका छन् । यसैगरी गाउँपालिकाले पालिका प्रहरी भर्ना गर्ने भन्दै ल्याउन लागेको विधेयकमा आफुहरुको असन्तुष्टि रहेको उनले जिकिर गरे । पालिका प्रहरीमा गाउँपालिका भन्दा बाहिरको नागरिकलाई राख्ने गाउँपालिकाको मनशाय रहेकोले उक्त कार्य आफुहरुलाई स्वीकार्य नहुने वडाध्यक्ष मिश्रले बताए ।
यसैविच, विवादका वावजुद गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । शनिबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पालिकाले बेतहनी स्वास्थ्य चौकीमा निमार्ण गरिएको नयाँ भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा संचालन, हिरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको संचालन, वार्ड नं. २ स्थित विउ भण्डारण केन्द्रको संचालन गरिने अध्यक्ष चौधरीले बताए ।
उनले पालिकामा संचालित अन्य कार्यक्रमलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिने बताए । सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ लगायताले योजना तथा कार्यक्रमका बारेमा बोलेका थिए । सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले सभा संचालन गरेका थिए ।
Discussion about this post