लर्निस खबर
नेपालगन्ज, २९ पुष
बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नका लागि ठाकुरबाबा नगरपालिकामा प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन प्रविधि तथा सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ ।
ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले महोत्सवको बारेमा जानकारी गराउँदै बर्दिया राष्ट्रिय निकुञ्जलगायत बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि आगामी माघ १४ गतेबाट महोत्सवको आयोजना गर्न लागिएको बताएको छ ।
सङ्घका अध्यक्ष गणेश कुँवरले ठाकुरबाबा नगरपालिकामा लुम्बिनी प्रदेशमै बढी पर्यटक भित्र्याउन धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने, कृषिमा रहेको व्यापार प्रवर्धन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने, स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखी महोत्सवको आयोजना गर्न लागिएको बताए ।
महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विशेष सुविधा र प्याकेज दिइने उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष महेन्द्र पङ्गेनीले बताए । महोत्सवका मुख्य आकर्षणहरुमा विद्यालयस्तरीय विज्ञान प्रतियोगिता, कृषि उत्पादन प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता स्थानीय स्तरमा उत्पादित हस्तकला प्रदर्शनीका साथै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने वरिष्ठ उपाध्यक्ष पङ्गेनीले बताए ।
माघ १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकको छ । महोत्सवमा १२० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
Discussion about this post