लर्निस खबर
नेपालगन्ज, १ माघ
चिनियाँ मनोरञ्जन कम्पनी बाइट डान्सको स्वामित्वको सामाजिक सन्जाल टिकटक अमेरिकी अर्बपति एलन मस्कलाई बिक्री गर्ने चर्चा चलेको छ । अमेरिकासहित कयौं देशमा प्रतिबन्धित टिकटक एलन मस्कलाई बिक्रीबारे छलफल चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ब्लूमबर्ग न्यूजले सोमबार चिनियाँ र अमेरिकी अधिकारीबीच टिकटक खरिदबिक्रीबारे प्रारम्भिक छलफल भएको समाचार लेखेको छ ।
यद्यपि यो समाचार तयार पार्दासम्म यसबारे मस्क र टिकटक दुवैतर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।
तर मिडिया रिपोर्टमा लेखिए अनुसार टिकटकलाई प्रतिस्पर्धाबाट वा सरकारको कुनै प्रक्रियाअनुसार खरिदबिक्री गर्नेबारे छलफल चलिरहेको छ ।
टिकटकलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध फुकुवाका लागि टिकटकले अदालतमा अपिल गरेको छ । तर अदालतबाट फैसला हुन भने बाँकी छ ।
अमेरिकामा टिकटक प्रयोगकर्ता १७ करोड रहेको अनुमान छ । यदि एक्स (ट्वीटर)का मालिक मस्कले टिकटक खरिद गरेमा उनलाई फाइदा हुने बताइन्छ ।
यसैगरी मस्कले एक एआई कम्पनी पनि सुरु गरेका छन् । त्यसको नाम एक्स एआई राखिएको छ । टिकटकसँगको डिलले उक्त कम्पनीलाई पनि फाइदा हुने विश्लेषण छ ।
मिडिया रिपोर्टस्का अनुसार मस्कको नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध छ । यस्तै चीनमा पनि मस्कलाई मन पराउनेहरु छन् । यही कारण पनि टिकटक मस्कलाई बिक्री गर्न खोजेको हुनसक्ने अनुमान गरिएको छ ।
टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्समा चीन सरकारको ठूलो हिस्सेदारी छ । त्यसैले यसबारे सरकारको आधिकारिक धारणा सार्वजनिक हुन समय लाग्ने बताइएको छ ।
टिकटकको अनुमानित लागत ४०–५० अर्ब डलर छ । मस्कले सन् २०२४ मा मात्रै ४४ अर्ब डलर खर्च गरेर ट्वीटर खरिद गरेका थिए । त्यसपछि उनले ट्वीटरको नाम बदलेर एक्स राखेका थिए ।
भर्खरै मात्रै ठूलो रकम खर्च गरेर मस्कले ट्वीटर खरिद गरेकाले उनले अहिले नै टिकटक खरिद गर्नेमा भने शंका छ ।
Discussion about this post