प्रवेश सिङ ठाकुर
नेपालगन्ज, ९ माघ
विवाहको उमेरहद १८ वर्षमा झार्ने सुझाव विरुद्व बाँकेमा विरोध गरिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएपछि बाँकेका किशोरीहरुले त्यसको विरोध गरेका हुन् ।
यहाँका किशोरीहरुले बुधबार जिल्ला प्रशासन कार्यालयका कार्यलय प्रमुख खगेन्द्र प्रसाद रिजाल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्रमा विवाहको उमेर २० बर्ष नै कार्यम गर्न माग गरिएको छ । उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले प्रधानमन्त्री कार्यालयमा आजै पठाउने प्रतिबद्वता व्यक्त गरे ।
१८ बर्षमा कुनैपनि किशोरी शैक्षिक, मानसिक, शारीरिक तथा क्यारीयरका हिसाबले परिपक्क भईनसक्ने हुनाले उक्त सुझाब कार्यान्वयन नगर्न ज्ञापनपत्र मार्फत माग गरेका हुन् । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे उपसमितिले अध्ययन तथा अनुगमन गरेपछि यहि माघ २ गते बसेको बैठकमा उपसमितिले यस्तो सुझाव दिएको हो ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ । उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव समितिले दिएको थियो ।
लिभिङ टुगेदरमा केटाकेटी बस्ने गरेको र पछि केही कुरामा केटा र केटी दुवै वा कुनै एक पक्षको कुरा नमिल्दा उक्त कार्य समेत जबरजस्ती करणीमा जाहेरी पर्ने गरेकाले उक्त कुरा पनि कानुनमा समेटिनु पर्ने सुझाव समितिको थियो ।
स्थानीयस्तरमा यस्तो सुझावलाई राज्यको असफलता र गैरजिम्मेवारीपन व्यवहार लुकाउन गरिएको प्रयास भनिएको छ ।
Discussion about this post